
काठमाडौँ । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना छनोट भएका छन् ।
‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।
उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।
उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
यसैगरी, आफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताए ।
काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूको घरमा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारे ।
उनले भने ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ । तसर्थ यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरूले छानबिनको प्रक्रिया सुरु गरिसकेको छ ।’
उनले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुनर्निर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गरे ।
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरूको हत्या गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताए । उनले घाइतेहरूको निःशुल्क उपचार भइरहेको पनि बताए ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । सयौँ उपचाररत छन् ।
काठमाडौं । सरकार जेनजी आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानको घेरामा परेका प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्नेसम्बन्धी तयारीमा जुटेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको नाम राहदानी रोक्का गर्ने वाचलिस्टमा परेको स्रोतले जनाएको छ ।
अन्तरिम सरकारका निकट एक उच्च अधिकारीका अनुसार, राहदानी रोक्का गर्नुपर्ने विषयमा अध्यागमन र राहदानी विभागसँग छलफल सम्पन्न भइसकेको छ । प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको जनाइएको छ ।
‘पासपोर्ट रोक्का गर्न कानुनी प्रक्रिया, प्रमाण र आधार चाहिन्छ । हामी परामर्शपछि प्रक्रिया अघि बढाएका छौं,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो ।
ओली, देउवा, लेखक वाचलिस्टमा, सुरुङ र जलेका नोट भेटिएको दाबी
जेनजी आन्दोलनको क्रममा जलेका घरहरूमा भेटिएको नगद रकम, सुरुङ जस्तो संरचना र विदेशी मुद्रा सम्बन्धी रिपोर्टले नेताहरूविरुद्ध थप अनुसन्धानको बाटो खोलेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा मुचुल्का उठाइसकेको छ ।
विभागले जलेका नोट, डलर र सुरुङ रहेको दाबी गरेको थियो । यद्यपि देउवाको सचिवालयले यसलाई अस्वीकार गर्दै ‘पानी ट्यांकी’ मात्र रहेको प्रष्टिकरण दिएको छ ।
त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि विभागको टोली पुगेर मुचुल्का उठाइसकेको छ । यी दुवै घरहरू प्रदर्शनको क्रममा जलेका थिए ।
२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा २१ जनाको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठ्दै आएको छ ।
सरकारले उक्त घटनाको छानबिनका लागि बनाएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले पनि शपथपछि काम सुरु गरिसकेको छ । आयोगसँग समन्वय गर्दै राहदानी रोक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्तामाथि भ्रष्टाचार छानबिनको नाममा प्रतिबन्ध र जेल हाल्ने चलखेल भइरहेको गम्भीर आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारका नाममा संविधानमाथि सङ्कट उत्पन्न भएको र प्रतिक्रियावादी शक्तिहरूले लोकतान्त्रिक उपलब्धि खोस्न खोजेको दाबी गरेका हुन् ।
“संविधान खारेज गर्ने, अन्तरिम संविधान ल्याउने, कठपुतली पात्रमार्फत स्वार्थ पूरा गर्ने प्रयास हुँदैछ,” प्रचण्डले भनेका छन् । साथै उनले फागुन २१ मा तोकिएको निर्वाचन समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन् । ‘यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौँ’ उनले भनेका छन्, ‘क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रासामु रहेको छ।’
साथै, समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डको भनाइ छ।
निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।
निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।
बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ अध्यादेशमार्फत संशोधन गरेका थिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेसँगै मतदाता नामावली संकलनको बाटो खुला भएको हो ।
यसअघि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि नयाँ मतदाता नामावली सङ्कलन गर्न नपाउने व्यवस्था थियो ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा महत्वपूर्ण सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।
‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्, जसले भदौ २३ र २४ गते भएको सशक्त ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको नेतृत्व गरेकी थिइन् ।
प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले हालै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । अन्तरिम सरकारको प्रमुख कार्यभार छ महिनाभित्र अर्थात् फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउनु रहेको छ ।
आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, सरकारका प्राथमिकता र राष्ट्रका नाममा भावी योजनाबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।
बडादशैंलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दशैं सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ ।
जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दशै मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।
जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताए । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताए ।
यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भने ।
स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए ।
खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।
मेष : आज वैवाहिक जीवनमा सामञ्जस्यता देखिनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । व्यापारमा साझेदारबाट सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने समय हो । वार्तालाप र सहकार्यबाट लाभ मिल्नेछ ।
वृष : शत्रुहरूमाथि नियन्त्रण रहनेछ । रोग वा स्वास्थ्यसम्बन्धी चिन्तामा सुधार आउनेछ । प्रतिस्पर्धी वातावरणमा आत्मबलका साथ अघि बढ्न सकिनेछ । कामकाजी जीवनमा अनुशासन र स्पष्टता आवश्यक देखिन्छ ।
मिथुन : प्रेम सम्बन्धमा खुलापन र स्वतन्त्रताको भावना बलियो हुनेछ । सन्तानको व्यवहारमा केही चञ्चलता देखिए पनि समयक्रममा सुधार सम्भव छ । अध्ययन र सिर्जनात्मक कार्यमा प्रेरणा मिल्नेछ ।
कर्कट : मातातर्फ चिन्ता, घरपरिवारमा असमझदारी वा अस्थिरता आउने सम्भावना देखिन्छ । मुद्दा–मामिलामा सावधानी आवश्यक छ । वाहन वा अचल सम्पत्ति सम्बन्धी कार्यमा विलम्ब हुन सक्छ । धैर्य र सहिष्णुता अपनाउनु उपयुक्त हुनेछ ।
सिंह : सञ्चार, यात्राको योग र साहसी निर्णयमा सफलता मिल्नेछ । दाजुभाइ वा समकक्षीहरूसँग सम्बन्ध प्रगाढ हुनेछ । लेखन, बोलचाल र वार्ताको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्न सकिने दिन हो ।
कन्या : वाणीमा स्पष्टता, तर साथमा मृदुता आवश्यक छ । आर्थिक पक्ष मध्यम रहनेछ– केही अनावश्यक खर्च पनि सम्भव छ । पारिवारिक विषयमा थोरै तनाव देखिन सक्छ । धैर्यपूर्वक व्यवहार गर्दा परिस्थिति सहज बन्नेछ ।
तुला : आजको दिनमा आत्मबल, आकर्षण र स्वप्रस्तुतिमा वृद्धि हुने देखिन्छ । सार्वजनिक रूपमा प्रभावशाली उपस्थिति रहनेछ । मन चञ्चल भए पनि आत्मनिर्णयमा दृढता ल्याउँदा लाभ हुनेछ ।
वृश्चिक : अहिलेसम्म स्थिरजस्तो देखिएको खर्चमा आकस्मिक वृद्धि हुन सक्छ । यात्रामा असहजता वा स्वास्थ्यमा थकान अनुभव हुन सक्छ । गोप्य विषयमा सावधानी अपनाउनुहोस, आत्मचिन्तन र विश्राम आवश्यक देखिन्छ ।
धनु : आज इच्छाहरू पुरा हुने सम्भावना बलियो छ । आर्थिक लाभ, मित्रताको विस्तार र सामाजिक सहभागिताबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ स्रोतको आम्दानीका संकेत छन् । योजनाबद्ध प्रयासबाट सफलता मिल्नेछ ।
मकर : पेसा, जागिर वा व्यवसायमा सम्मान प्राप्त हुनेछ । वरिष्ठ वा उच्चपदस्थ व्यक्तिहरूबाट सहयोग मिल्नेछ । कर्मप्रधान दिन हो, जिम्मेवारीलाई इमानदार रूपमा पुरा गर्नु लाभदायी हुनेछ । मान–प्रतिष्ठा वृद्धिको योग छ ।
कुम्भ : धार्मिक आस्था बढ्नेछ, तर मानसिक विचलन पनि हुन सक्छ । गुरु वा पितासँग विचारविमर्श लाभदायी हुनेछ । यात्रामा केही बाधा आउन सक्नेछ, तर ज्ञान, शिक्षा र दर्शनतर्फ झुकाव बढ्ने दिन हो ।
मीन : मानसिक अशान्ति र शारीरिक पीडा दिन सक्छ । अप्रत्याशित परिवर्तन वा समाचारले प्रभावित गर्न सक्छ । जोखिमयुक्त काम वा तर्क–विवादबाट टाढा रहनु हितकर हुनेछ । शान्त र गम्भीर व्यवहार आवश्यक छ ।