नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनले जेनजी भनिएको यो सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट नबनेको बताए ।
आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन ओलीले सरकारलाई चुनौती दिए ।
आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार गरेको भए देखाउन सरकारलाई चुनौती दिए ।
‘मैले कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डेट छन् । ती कुराहरू सरकारले बाहिर ल्याओस्, प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन्,’उनले भने, ‘अरू क्षेत्रमा गरेका कामहरू रेकर्डेट छन् । बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दै गर्दैनौँ ।’
अध्यक्ष ओलीले एमालेले सधैँ सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याए ।







