
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको सहज र प्रभावकारी उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार घाइतेहरूको पहिचान, वर्गीकरण र उपचार प्रक्रिया सहज बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालहरूमा क्लिनिक स्थापना गरिनेछ।
यस कार्यका लागि गृह तथा स्वास्थ्य मन्त्रालयले सम्पर्क व्यक्ति तोक्नेछ, जसले अस्पताल र पीडितबीच समन्वय गर्ने जिम्मेवारी लिनेछन् ।
उपचारमा संलग्न अस्पतालका विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी, सम्बन्धित अस्पतालमार्फत उपचार प्रक्रिया प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ।
घाइतेहरूको पहिचान र सेवा पहुँच सुनिश्चित गर्न असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरिनेछ। उक्त कक्षमार्फत घाइतेहरूलाई परिचयपत्र वितरण गरिनेछ, जसको आधारमा उनीहरूले विभिन्न सेवामा पहुँच पाउनेछन्।
फलोअप उपचार आवश्यक हुने घाइतेहरूको लागि एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने छ । घाइतेले परिचयपत्र देखाएर नि:शुल्क रूपमा अस्पताल आउजाउ गर्नका लागि सो एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
‘भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमन चयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ,’ उनले भने ।
प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।
मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ।
घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले बताएकोछ।
त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ।
त्यस्तै घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ।
पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनले जेनजी भनिएको यो सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट नबनेको बताए ।
आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन ओलीले सरकारलाई चुनौती दिए ।
आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार गरेको भए देखाउन सरकारलाई चुनौती दिए ।
‘मैले कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डेट छन् । ती कुराहरू सरकारले बाहिर ल्याओस्, प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन्,’उनले भने, ‘अरू क्षेत्रमा गरेका कामहरू रेकर्डेट छन् । बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दै गर्दैनौँ ।’
अध्यक्ष ओलीले एमालेले सधैँ सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याए ।
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए । राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले बताएको छ । स्रोतका अनुसार राणाले अभिभावकको दबाब राजीनामा दिएकी हुन् ।
आरजु राणाको लगानी रहेको भन्ने आधारमा जेनजी आन्दोलनका क्रममा २४ भदौमा युलेन्स स्कुलका ललितपुरको खुमलटार र काठमाडौँको बाँसबारीस्थित भवनहरूमा आगो लगाएर ध्वस्त बनाइएको थियो । आगजनीबाट ध्वस्त स्कुललाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी युलेन्स फाउन्डेसनले गरेको छ ।
काठमाडौँ- अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि अबदेखि आवेदन फारम भर्दा एक अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। यसअघि फारम भर्दा कुनै शुल्क लाग्दैनथ्यो।
अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत सार्वजनिक गरेको सूचना अनुसार, धोकाधडी नियन्त्रण गर्न र प्रशासनिक खर्च व्यवस्थापन गर्न विश्वभरका सबै आवेदकबाट न्यूनतम शुल्क लिने निर्णय गरिएको हो।
यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरमा सुरु हुनेछ। फारम भर्दा पासपोर्ट अनिवार्य हुने र भिसा पाउँदा तिर्नुपर्ने ३३० डलरको शुल्क भने यथावत रहनेछ।
भुक्तानी प्रक्रियामा अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने व्यवस्था हुनेछ। नेपालमा भने प्राय: भिसा वा मास्टर कार्ड नै प्रयोगयोग्य हुने बताइएको छ। शुल्क तिरेपछि मात्र फारम सबमिट हुने भएकाले आवेदकले पहिले नै कार्डको भुक्तानी सीमाबारे स्पष्ट हुनुपर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षकले तलब नपाएको ब्यापक गुनासो आएपछि मन्त्री पुनले आइतबारसम्म तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको स्पष्ट पारेका छन् ।
उनले आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने बताएका छन्।
मन्त्री पुनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गतेको घटनाबारे एक सनसनीपूर्ण खुलासा गरेका छन् । भक्तपुरको गुण्डुस्थित आफ्नो डेरामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने ‘योजना’ रहेको बताएका हुन् ।
अध्यक्ष ओलीका अनुसार, यदि उनी बालुवाटारबाट पाँच मिनेट मात्रै ढिला निस्केका भए, ‘मार्ने नै थिए ।’ उनले थपे, ‘शेरबहादुरजीलाई घाइते बनाउने र मला ई मार्ने खालकै योजना थियो ।’
ओलीले आफूले यस्तो ‘हठात् सत्ता नै पल्टाउने’ घटनाको तयारी गर्न समेत नपाएको बताए । ‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ,’ उनले भने । सुरक्षा संयन्त्रमाथि भरोसा भए पनि प्रदर्शन चर्किंदै गएपछि उनीहरूले केही गर्न नसक्ने बताएको ओलीको भनाइ छ । ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो,’ उनले भने ।
अन्तिममा नेपाली सेनाले आफूलाई त्यहाँबाट ‘भगाइसम्म दिएको’ ओलीले उल्लेख गरे । गत भदौ २४ गते दिउँसो २ बजे राजीनामा दिएलगत्तै उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् उद्धार गरी शिवपुरी पुर्याएको थियो । ‘अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो एकछिनमा । पाँच मिनेटभित्रमा हामी हिँड्यौं,’ उनले स्मरण गरे ।
ओलीले यस्तो ‘परिघटना’ बाट विचलित नभई उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । ‘कमजोर मनोबल बनाएर यसका विरूद्ध हामीले केही पनि गर्न सक्दैनौं । यस षड्यन्त्रबाट देशलाई जोगाउनचाहिँ उच्च मनोबल गर्नैपर्छ,’ उनले भने ।
उनले यो ‘देशै जलाउने खालको महाआपराधिक घटना’ भएको टिप्पणी गरे । अध्यक्ष ओलीले एमाले देशको नेतृत्वमा हुँदासम्म यस्ता घटना अब कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘हामी एमाले हुँदाहुँदै अब कुनै पनि हालतमा हुन दिँदैनौं । एमाले हुँदाहुँदै सिंहदरबार जलाउने ?,’ उनले प्रश्न गरे ।
उनले यसपटक एमालेको ‘कमजोरी’ भएको र देशका सम्पत्तिको रक्षा गर्न चुकेको स्वीकार गरे । ‘यसपल्ट हाम्रो अलिकति कमजोरी भयो । यो हदसम्म देशै जलाउँछन् भन्ने खालको त्यस्तो लाग्या थिएन,’ उनले भने ।
ओलीले ‘देशद्रोही, अपराधी तत्वहरू’ विभिन्न ठाउँमा, पद र ओहोदामा पुगेको टिप्पणी गरे । ‘छद्म तत्वभित्र पसेका रहेछन् । तर वास्तवमा देशलाई माया नै नगर्ने तत्वहरू शेर पल्टेर बसेका रहेछन् यसपटक हामीले देख्यौं । त्यस्ता तत्व हामीले चिनेका छौं। त्यस्ता तत्वलाई विस्तारै नियन्त्रण गर्दै लगिनेछ,’ उनले चेतावनी दिए । यस घटनाले नेपाली राजनीतिमा थप तरंग पैदा गरेको छ ।
काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ दिन भए पनि तिथिका हिसाबले आज नवरात्रको पाँचौँ दिन हो ।
नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजाआराधना गरिँदैछ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ ।
गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।
नवरात्रमा प्रत्येक दिन एक एक देवीको आराधना गर्ने परम्परा छ। दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्।
नवरात्रभर महाकाली, महालक्ष्मी, महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ।
यसै अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायत देशभरका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गर्नेहरूको भीड लागेको छ ।





