काठमाडौँ : नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनप्रति व्यक्त गरेको अभिव्यक्तिमाथि प्रश्न उठेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य युवराज बास्कोटाले ओलीको अभिव्यक्तिप्रति असहमति जनाउँदै जेनजी पुस्ताले उठाएका मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका हुन् । बिहीबार बैठकमा बोल्दै बास्कोटाले भने, ‘जेनजी कुनै राजनीतिक दल होइन, यो पुस्ता विशेषको आकाङ्क्षा हो, जसले तत्कालीन सत्ताविरुद्ध सडकमा आवाज उठायो । यद्यपि आन्दोलनका क्रममा केही हिंसात्मक क्रियाकलाप भए पनि त्यसको आधारमा पूरै पुस्तालाई दोष दिन मिल्दैन।’
‘जेनजी आन्दोलनकारीलाई गाली होइन, तिनले उठाउँदै आएका समसामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनुहुँदैन । यो हाम्रो निर्णायक भोट बैङ्क पनि हो।’ बास्कोटाले भने, ‘सुशासनको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताको सवाल आफ्नै नेतृत्व भएका बेला उठ्नु भनेको आत्म समीक्षा आवश्यक भएको सङ्केत हो।’
फरक प्रसङ्गमा उनले भने ‘पार्टीमा बृहत् एकता, खँदिलो एकता र साँच्चिकै एकमना एकता चाहने हो भने पार्टी केन्द्रीय कमिटीको पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ । हिजो लिएको निर्णयमा पुनः विचार गरिनुपर्छ ।’
महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणका लागि उत्तराधिकारी तयार गर्नु नेतृत्वको कुशलता बताउँदै उनले महाधिवेशनसम्म पुग्दा अध्यक्ष कमरेड अभिभावकको भूमिकामा बस्न ओलीलाई सुझावसमेत दिएका छन् ।
