२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

नयाँ मतदाता नामावलीमा युवा उत्साह, २ लाखभन्दा बढी थपिए

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानमा युवा वर्गको उत्साहजनक सहभागिता देखिएको छ । अभियान सुरु भएयता हालसम्म २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएका छन्, जसमध्ये १ लाख २२ हजार ७४० जना पुरुष, ८६ हजार ७८५ जना महिला र २७ जना अन्य रहेका छन् ।

 

विशेषगरी ‘जेनजी’ समूहलाई लक्षित गरी असोज ९ गतेदेखि सुरु भएको यो अभियान कात्तिक ३० गतेसम्म जारी रहनेछ । आयोगका अनुसार १८ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाका दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ताको व्यवस्था मिलाइएको छ ।

मतदाता नामावली दर्ता स्थलहरूमा सेवाग्राहीको अत्यधिक चापलाई दृष्टिगत गर्दै आयोगले सेवा प्रवाहलाई थप सहज बनाउन विशेष व्यवस्था गरेको छ । दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अब ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा सञ्चालन हुनेछ ।

 

यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन गृह मन्त्रालयमा पत्राचार गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

नयाँ मतदाता दर्तासँगै विवाह भई अन्यत्र गएका वा बसाइँसराइ गरेका मतदाताहरूले पनि आफ्नो नाम ठाउँसारी गर्न सक्नेछन् । साथै, मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा कुनै त्रुटि भएमा सच्याउने अवसर पनि आयोगले प्रदान गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।