२०८३ आश्विन ५ गते सोमबार
२०८३ आश्विन ५ गते सोमबार

आन्दोलनमा मैले गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक

जेनजी आन्दोलनमा बल प्रयोग गर्न आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले भने, ‘‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन ।’

उनले आफू अत्यन्तै पीडामा परेर पदीय मर्यादाको आधारमा राजीनामा दिएको जिकिर गरे । ‘कति बल प्रयोग गर्ने, कसरी गर्ने के गर्ने भन्ने छैन भनेको छैन । दिएको छैन । तर म अत्यन्तै ज्याद मर्माहित भएर पदीय मर्यादाको आधारमा राजीनामा गरेको हुँ । नैतिकताको आधारमा मैले राजीनामा गरेँ,’ लेखकले भने ।

लेखकले आयोगलाई बुझाएको लिखित बयानमा पनि गोली चलाउन आदेश नदिएको दाबी गरेका छन् । लेखकले भनेका छन्, ‘गृहमन्त्रीलाई कुनै पनि कानूनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन।’

बल प्रयोगका लागि लिखित वा मौखिक आदेश दिने अधिकार गृहमन्त्रीलाई नभएको उनले उल्लेख गरेका छन्। व्यवहारिक रुपले पनि आदेश दिन नमिल्ने गरेको उनको भनाइ छ। ‘प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन। न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ,’ लेखकले बयानमा भनेका छन्, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ। न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।’

बल प्रयोगका विषयमा फिल्डमा खटिएका सुरक्षा निकायले नै विश्लेषण गर्ने उनको भनाइ छ। यसमा गृहमन्त्री वा प्रधानमन्त्रीले आदेश नदिने गरेको उनले बयानमा उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन,’ लेखकले भनेका छन्, ‘प्रदर्शनका वेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा विश्लेषण गरि निर्धाण गर्ने हो।’

यसबारे कानूनले पनि सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई नै निर्णय गर्ने अधिकार दिएको लेखकले बयानमा उल्लेख गरेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।