हिन्दु नेपालीहरुको दोस्रो ठ्लो चाड तिहार आजबाट सुरु , आज कागको पुजा गरीदै ।

0
727

३१ असोज , काठमाडौं । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन मंगलबार काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, किसान पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार हो । आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्छन् । आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पंक्षीको रुपमा लिइन्छ । साथै समस्त पंक्षीहरुमध्ये सबैभन्दा चतुर पनि मानिन्छ ।

यस्तै वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा मंगलबार धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ । उता कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।