२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।

जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी प्रहरीले उपचारका लागि हेटौंडा पठाएको थियो ।

 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान बुझाएका छन् ।

आयोगसम्बद्ध स्रोतका अनुसार आयोगको टोलीले ओलीलाई पत्र पठाएलगत्तै उनी बयान दिन तयार भए । ओली निकटका व्यक्तिहरूको संकेतमा आयोगको टोली गुण्डुस्थित उनको निवासमा पुगेको थियो । त्यहाँ ओलीले मौखिक नभई लिखित रूपमै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए । ‘आयोगको टोली स्टेटमेन्ट लिएर फर्किएको छ,’ स्रोतले भन्यो ।

यसअघि ओलीले आयोगमा सिंहदरबार पुगेर बयान दिन अस्वीकार गर्दै आएका थिए । उनले ‘गुण्डुमा आए चिया खुवाएर पठाउँछु’ भन्दै आयोगलाई आफ्नै निवासमा बोलाउने अडान राखेका थिए । अन्ततः आयोगको टोली निवासमै पुगेर निकै गोप्य रूपमा लिखित बयान लिएर फर्किएको हो ।

स्रोतका अनुसार आयोगले संकलित विवरण र अन्य बयानका आधारमा ६० भन्दा बढी प्रश्नहरू तयार पारेको थियो । ओलीको लिखित जवाफ तिनै प्रश्नहरूमा केन्द्रित रहेको अनुमान गरिएको छ । आयोगका पदाधिकारीहरूले बयानको विवरण गोप्य राखेका छन् ।

आयोगले केही दिनअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिइसकेको छ । लेखकले आन्दोलन दमनका लागि गोली चलाउने आदेश आफूले नदिएको स्पष्ट पारेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग पनि बयान लिइसकेको छ ।

ओलीले पटक–पटक सार्वजनिक रूपमै आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका थिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले पार्टी एकीकरण तथा संगठन विस्तारको क्रममा यसअघि विभिन्न पक्षसँग भएको सम्झौता कार्यान्वयन गर्न पार्टी विधान संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले विधान संशोधनमार्फत पार्टीका पदाधिकारी संख्या थप गर्ने प्रस्ताव पारित गरेको छ । थपिने पदहरूमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ रहेका छन् ।

यो संशोधन पार्टीमा नयाँ समूह तथा व्यक्तिहरूको समायोजनलाई व्यवस्थित गर्न तथा संगठनलाई थप सुदृढ बनाउन लक्षित रहेको बताइएको छ ।

काठमाडौं ।  जेनजी आन्दोलनमा दमन र गोली चलाइएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाउँदै बयानका लागि उपस्थित हुन आग्रह गरेको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । लेखकले आयोगसमक्ष आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । लेखकको बयान सकिएलगत्तै आयोगले ओलीलाई पत्र पठाएको स्रोतले जनाएको छ । यसबाहेक आयोगले सुरक्षा निकायका तत्कालीन प्रमुखहरू, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ ।

तत्कालीन सरकार प्रमुखको हैसियतले जेनजी आन्दोलनको क्रममा भएको गोलीकाण्ड र दमनको जिम्मेवारीबारे स्पष्ट पार्न ओलीसँग बयान लिन लागिएको हो । तर ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा आफूले गोली चलाउने आदेश नदिएको बारम्बार दोहोर्‍याउँदै आएका छन् । उनले आयोगमा बयान दिनु नपर्ने भन्दै ‘सार्वजनिक रूपमै बयान दिएको छु, फेरि किन जाने ?’ भन्ने अडान पनि व्यक्त गर्दै आएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी समायोजन पछि आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ ।

मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो ।

वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका थिए । सो क्रममा छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुगेको छ । प्रदर्शनकारीहरूले वीरगन्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका मुख्य स्थानहरूमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए ।

दुई प्रहरी घाइते, एक जना नियन्त्रणमा झडपका क्रममा ढुङ्गा लागेर २ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि, स्थिति सहज बनाउन उनीहरुलाई पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले हाल वीरगन्जको अवस्था सामान्य रहेको जानकारी दिए । ‘अहिले अवस्था नियन्त्रणमा छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले नियन्त्रणमा लिएका एक जना प्रदर्शनकारीलाई छाडिसकेका छौँ । अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक स्थानमा प्रहरी परिचालन गरिएको छ ।’ अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आज वार्ता भएको छ ।

आतइबार ललितपुरको च्यासमा उनीहरुबीच भेटवार्ता भएके हो । उनीहरुबीच जेनजी आन्दोलनपछिको पहिलो भेटवार्ता हो ।

दुई नेताबीच आसन्न प्रतिनिधिसभा निर्वाचन, राष्ट्रियसभा निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यस्तै फागुन २१ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रमुख तीन दल तालमेल गरी चुनावमा जाने तयारी रहेको समेत बताइएको छ ।

काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ ।

महासचिव शंकर पोखरेलले आज सामाजिक संजाल फेसवुक मार्फत संयुक्त राष्ट्रसंघ गायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन गरेको उल्लेख गरेका छन् । उनले अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने समेत बताएका छन् ।

‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।’ उनले लेखेका छन् । ‘यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’

काठमाडौं । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको हत्या भएको छ । वन संरक्षक रामेश्वर महतोको बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।

शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि उनी साइकल लिएर निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका महतोको दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीले खोजी गर्दा उनको शव भेटिएको हो ।

गाउँबाट करिब २ सय मिटर भित्र झाडीमा उनको हत्या गरिएको अवस्थामा शवव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

गिरफ्तार गरिएको दाबीपछि गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन् ।

मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन् । तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन् ।

मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा ।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन् ।

जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण नयाँ सरकार नबनेसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ ।’ यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे ।

ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो ।’

उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ ।’

ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरेका छन् ।

यसअघि शनिबार ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए ।

यस्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले अब उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।