काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको बताएका हुन् ।
उनले बजेट भाषणमा मात्र सीमित रहने संसदलाई जनचासोको केन्द्र बनाउने पार्टी नै रास्वपा भएको जिकिर पनि गरे ।
उनले बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दाबीसहित नयाँ पुस्ता मिलेर अघि बढिरहेको पनि बताए । उनले पुराना राजनीतिक दलहरुले देशलाई निराशातर्फ धकेलेको आरोप पनि लगाए ।
उनले अहिलेको राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनको वातावरण खल्बल्याउने गतिविधि नगर्न समेत सबै पक्षलाई आग्रह गरे ।








