बाजुरामा काँग्रेस र बाम गठबन्धन बिच कडा प्रतिस्पर्धा हुने ।

0
342

 
कात्तिक ७ बाजुरा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा एमालेबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्र्धा हुने भएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा एमाले र नेकपा माओबादी केन्द्र गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसका कविराज पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत काँग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ ।

संयुक्त बाम गठबन्धनले बाजुराको प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व लिने होडबाजी गर्न थालेको पाइएको छ ।

जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसले जित्न अपरिहार्य रहेको काँग्रेस नेताको भनाइ रहेको छ । काँग्रेसले दुवै क्षेत्रमा र प्रतिनिधिसभामा विजयी भएपछि विकास निर्माणलाई बढी प्राथमिकतामा राख्दै जिल्लामा आर्थिक समुन्नतिमा लैजाने योजना रहेको काँग्रेसले बताएको छ ।
नेपाली काँग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ क मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ ख मा नेपाली काँग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने संयुक्त बाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाई मनोनयन दर्ता गराएको छ ।