काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपाली टोलीले जिम्बाब्वेलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १९.३ ओभरमा केवल चार विकेट गुमाएर एक सय ३३ रन बनायो । नेपाली टोलीको जितमा उप–कप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय रनको योगदान गरिन् । यसक्रममा उनले ५० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले पनि टोलीको जितमा २२ रनको योगदान गरिन् ।
ओपनर विन्दु रावलले टोलीको खातामा १५ रन थपिन् । उनले १७ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भइन् । सीता राना मगर ११ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिएकी थिइन् ।
उनले १५ बलमा एक चौका प्रहार गरिन् । रुविना क्षेत्री दुई रनमा अविजित रहिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि २१ रन पायो । नेपाली टोलीको भने ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना कायमै छ । जारी छनोट प्रतियोगितामा नेपालले अझै एक खेल खेल्न बाँकी छ ।








