१३ कात्तिक , चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताए । उनको वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए । वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनको भनाई छ ।
पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताए । चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो भन्ने पत्रकारको प्रश्नमा उनले भने “यो चितवनका जनताले फैसला गर्ने कुरा हो ।” उनले अगाडी थपे अगाडि थपे “यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।
” विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भने “शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।” घटनामा संलग्नलाई पार्टीले कारबाही गर्छ भनेको स्मरण गर्दै दाहालले घटनाका दोषीलाई पार्टीले कारबाही गरिसकेको बताए । चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले आज साँझ एमाले अध्यक्ष केपी ओली र आफूबीच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताए ।