
काठमाडौँ । नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्काे नेपाली हुन् ।
आज फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो ।
यस्तै, विमानस्थलमै सुरक्षा छलेर सुन निकाल्न खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई पनि सुनसहित पक्राउ गरिएको उनले बताए ।
उनलाई विमानस्थलभित्र राखिएको डस्टबिनबाट फोहरसँगै निकाल्ने क्रममा पक्राउ गरिएको हो । उनले निकाल्न लागेको फोहरको पोकोबाट ४.४ ग्रामका सुनका सिक्रीका टुक्रा फेला पारिएको छ । आजै अनुसन्धानका लागि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय पठाइएको पनि सिलवालले बताए ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको नेपाली कांग्रेसले देश परिवर्तन गर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टी नयाँ ढङ्गले अघि बढेको र युवासँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गरेका हुन् ।
‘नेपाली कांग्रेस बदलेर आएका छौँ, यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ सभापति थापाले भनेका छन् ।
पार्टीलाई परिवर्तनको माध्यमका रूपमा प्रयोग गरेर देश बदल्ने सपना साकार पार्ने उद्देश्य रहेको उनले बताए । ‘म तपाईँहरूसँग काम गर्न चाहन्छु, हिँड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो,’ गगनले भनेका छन्, ‘यो एजेन्सीलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौँ ।’
देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको भन्दै थप ध्वंश हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौँ । यो देशलाई आज सम्हाल्नुपर्ने पनि छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौँ पनि । हामी देशलाई थप ध्वंसमा पर्न दिँदैनौँ ।’
थापाले उत्तेजना र घृणाको राजनीति नगर्ने तथा सबैलाई साथमा लिएर अघि बढ्ने बताए । ‘हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौँ, हामी कुनै घृणाको राजनीति गर्दैनौँ । हामी सबैलाई मिलाएर लिएर जान्छौँ । हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई बदल्छौं पनि,’ सभापति थापाले भनेका छन्, ‘सुधार्छौँ पनि । नेपालमा शासन गर्ने हाम्रो मति र गतिलाई पनि बदल्छौं भनेर आएका छौँ ।’
युवालाई भविष्य मात्र नभई सहयात्रीका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्। ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिँड्ने हो,’ थापाले भने ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गरेर आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरेका हुन् । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी सकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजनीतिक दल तथा उम्मेदवारलाई आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगले ध्यानाकर्षण गराएको हो ।
राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।
यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको पनि आयोगले जनाएको छ ।
यसैअनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट कार्यसम्पादन गर्न पनि निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग आबद्ध गर्नेगरी सु–संस्कृत व्यवहारको थालनी भएकाले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा पनि आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।
टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ बुधबार दिउँसो १ः२८ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । उडान भएको करिब ४ मिनेटमै जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘उडेको चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको जानकारी क्याप्टेनले दिएका थिए,’ महाप्रबन्धक सिटौलाले भने, ‘त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ लैजाँदै दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेटसम्म होल्ड गरेका थिए ।’
उनका अनुसार टर्किसको ए३३०–३०३ सिरिजको वाइड बडी जहाजमा २२५ जना यात्रु सवार थिए ।
आगलागीको खबर प्राप्त हुनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो । ‘दमकल, एम्बुलेन्सलगायत आवश्यक सबै सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेर विमानस्थल बन्द गरेका थियौं,’ सिटौलाले भने, ‘तर चालकदलले जहाजलाई भारतको कोलकाता डाइभर्ट गर्ने जानकारी दिएपछि त्यसको अनुमति दिइयो ।’
महाप्रबन्धक सिटौलाका अनुसार दायाँ इन्जिन बन्द गरेलगत्तै आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिन मात्र प्रयोग गरेर जहाजलाई सुरक्षित रूपमा कोलकातातर्फ डाइभर्ट गरिएको हो ।
‘उक्त जहाज अहिले कोलकातामा सुरक्षित अवतरण भइसकेको छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थल पनि अहिले सामान्य रूपमा सञ्चालनमा आइसकेको छ ।’
काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो ।
विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् ।
निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् ।
एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिएका छन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।
नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ । निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए । निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए ।
एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरूप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन भएको हो । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ ।
निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ ।
मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेछ ।
आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।
दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ । सोहीअनुसार नियमितरूपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको प्रहरीले जनाएको छ ।
निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाइएको र जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।





