काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी र सुरक्षा सतर्कता बढिरहेका बेला प्रहरीले पर्सा र सिरहाबाट दुईजना उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । नियमित सुरक्षा जाँच र निर्वाचन आचारसंहिता उल्लंघनको आशंकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारहरू प्रहरी फन्दामा परेका हुन् ।
पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार बनेका मनोज चौधरीलाई प्रहरीले बडनिहार क्षेत्रबाट नियन्त्रणमा लिएको छ । नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार सवारी साधनलाई रोकेर खानतलासी गर्दा शंकास्पद वस्तु फेला परेपछि उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले उक्त क्षेत्रलाई केही समय घेराबन्दी समेत गरेको थियो । डिएसपी बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ र यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
यता सिरहामा पनि मौन अवधिको उल्लंघन गर्दै नगद र मतपत्रसहित एक उम्मेदवार पक्राउ परेका छन् । सिरहा क्षेत्र नम्बर ३ का जसपा उम्मेदवार अशेश्वर यादवलाई गएराति करिब १२:३० बजे शिवचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल-भारत सीमावर्ती क्षेत्र माडरबाट सदरमुकाम सिरहातर्फ आउँदै गरेको प्र. २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्दा स्रोत नखुलेको ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उम्मेदवार यादवको गाडीबाट नगदका साथै केही मतपत्र समेत बरामद भएको दाबी गरिएको छ । यादवसँगै गाडीमा सवार अन्य पाँच जनालाई पनि प्रहरीले हिरासतमा लिएको छ । उनीहरूलाई थप कानुनी कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।










