राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको पदभार ग्रहण गरेकी छिन्।
उनी नेपालको वादी समुदायबाट मन्त्री बन्ने पहिलो महिला हुन्। पदभार ग्रहण गरेसँगै उनी भावुक भइन्। आँखाबाट आँसु पुछ्दै उनले भनिन्, ‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।’
उनले समाजको जातीय बहिष्करणसँग संघर्ष गर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै परिवर्तन आएको महसुस गरेको बताइन्। उनले भनिन्, ‘अब जिम्मेवार भएर समाज रूपान्तरणमा सक्रिय हुनेछु।’
महिला सशक्तीकरणका क्षेत्रमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका-१४ स्थायी घर भएकी हुन्। हाल उनी काठमाडौँको बुढानीलकण्ठ-८ मा बसोबास गर्दै आएकी छिन्।
गरिबी र सामाजिक विभेदका कारण जीवनका प्रत्येक चरणमा पहिचानका लागि संघर्ष गर्दै आएकी उनी रास्वपामा आबद्ध भएकी थिइन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनले १३ वर्षको उमेरदेखि संस्थागत आर्थिक सहयोगमा आफ्नो अध्ययन पूरा गरिन्।
स्नातक तहसम्मको शिक्षा हासिल गरेपछि उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तीकरणका लागि सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन्। अब मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले महिला तथा सीमान्तकृत समुदायका समस्याहरू समाधान गर्न बृहत्तर रूपमा काम गर्ने बताएकी छिन्।








