निर्वाचनमा जिम्मेवार बन्न राजनीतिक दललाई आयोगको आग्रह , चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग रोकिएन ।

0
216

२ मंसिर काठमान्डौँ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नरोकिएको भन्दै निर्वाचन आयोगले राजनीतिक दलका साथै खासगरी विद्यालय तथा शिक्षकहरुलाई जिम्मेवार बन्न आह्वान गरेको छ। त्यसका लागि उसले शिक्षा मन्त्रालय, विभाग र कार्यालयका एवं निजी तथा सरकारी विद्यालयका व्यवस्थापकहरुलाई आवश्यक कारबाही गर्न भनेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा बालबालिकाको प्रयोग भइरहेको भन्दै राष्ट्रिय मानव अघिकार आयोगले ध्यानाकर्षण गराएका बेला निर्वाचन आयोगले शिक्षा सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो।

राजनीतिक दलहरुको आग्रहमा विद्यालय बन्द गर्ने, विद्यालय परिसरमा आमसभा गर्न अनुमति दिने र भीड बढाउन विद्यार्थीलाई जबरजस्ती लैजान दिने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भएको निर्वाचन आयोगले जनाएको छ। पटक पटक ध्यानाकर्षण गराए पनि जुलुस, आमसभा, र्‍याली तथा राजनीतिक भेला जस्ता चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नरोकिएको भन्दै आयोग एक्लैले केही गर्न नसक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्। तर त्यसलाई निरुत्साहित गर्न शिक्षासम्बन्धी सरकारी निकायहरु नै मौन जस्तो देखिएको यादवले बताए।

निर्वाचन आयोगले बालबालिकाको प्रयोगसम्बन्धी आएका उजुरीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।
तर हालसालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रचारको बेला भएका सोही प्रकृतिका आचारसंहिता उल्लंघनकै घटनामा समेत आयोग मूकदर्शक बनेको कतिपयको आरोप छ।निर्वाचनमा झण्डै साढे ६ हजार बालबालिकाको प्रयोग भएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ। जसमध्ये नेपाली कांग्रेसबाट ३० प्रतिशत, माओवादी केन्द्रबाट २७ प्रतिशत र एमालेबाट २६ प्रतिशत बालबालिकाको प्रयोग भएको उसले बताएको छ।