५ मंसिर , चितवन । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने बम राखिएको जानकारी दिंदै उनले तर्साउनका लागि बम राखिएको उल्लेख गरे ।
बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उनले निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उनको आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो ।