राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिब नागरिकलाई सेवा दिनेभन्दा पनि ठुलो व्यापारीहरूलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिय वाग्लेले संसदमा पेस गर्नुभएको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।
नेता शाहीले नेपालको पुँजी समेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै अर्थमन्त्री वाग्लेसँग असन्तुष्टि व्यक्त गरे । उनले सरकारले बिरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै आक्रोश व्यक्त गरे ।
रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको नेता शाहीको भनाई थियो ।
नेता शाहीले सरकारले ल्याएको बजेटले नेपालको औषधी व्यवसाय सङ्कटमा पर्ने पनि बताए ।








