राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर परिचालन नगरेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्का बेला हेलिकप्टरमार्फत उद्धार गर्ने प्रतिबद्धता सरकारले जनाए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताए ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खसेपछि उद्धारका लागि हेलिकप्टर नपठाइएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए ।
‘आज मन्त्रीहरू हेलिकप्टरमा सवार हुँदा कर्णाली नदीमा मान्छे डुब्दा उद्धार गर्न नहुने ? के कर्णालीका जनता यो देशका नागरिक होइनन् ? यसको जवाफ आज आउनुपर्छ,’ उनले भने ।
शाहीले उक्त घटनाबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई रुलिङ गर्न माग गरे । ‘आकाशमा मन्त्रीहरू उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए । यो एउटा दुर्घटना मात्रै होइन, राज्यको संवेदनहीनताको सबैभन्दा ठूलो प्रमाण हो,’ उनले भने ।
उनले दुर्घटनापछि सम्बन्धित निकायमा पटक–पटक सम्पर्क गर्दा समेत फोन नउठाइएको आरोप लगाए ।
‘कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ? फोनसमेत उठ्दैन । राज्यले नागरिकको जीवन बचाउने विषयमा यस्तो गैरजिम्मेवार हुन मिल्दैन,’ उनले भने ।
शाहीले कर्णालीका नागरिकले पनि समान रूपमा बाँच्न पाउने अधिकार रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सरकारले विभेद नगर्न आग्रह गरे ।










