काठमाडौँका विभिन्न सञ्चारगृहको मुख्य प्रवेशद्वारमा बेवारिसे सवारीसाधन तेर्स्याएर आतंक सिर्जना गर्ने घटनामा गाडी धनीको पहिचान खुलेको छ। सोमबार बिहानै कान्तिपुर पब्लिकेसन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी राखिएका गाडीहरू यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बैंक र व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार कान्तिपुर पब्लिकेसनको गेट अगाडि राखिएको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता छ। त्यसैगरी, अनलाइन खबरको कार्यालय अगाडिको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा र हिमालय टेलिभिजनको कार्यालय अगाडिको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा रहेको खुलेको छ।
बिहान ७ बजेदेखि नै गाडीहरू यसरी पार्किङ गरिएका थिए कि जसले सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीहरूलाई आफ्ना सवारीसाधन समेत कार्यालय हाताभित्र लैजान बाधा पुगेको थियो। यस कार्यलाई नियोजित र रहस्यमय रूपमा लिँदै सञ्चार क्षेत्रमा त्रास फैलाउने उद्देश्यले गरिएको गतिविधि भनी आलोचना भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले तत्काल घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ती सवारीसाधनहरूलाई हटाई सडक खुलाएको छ। जिल्ला प्रहरी परिसरले गाडी धनीहरूको पहिचान भएसँगै ती सवारीसाधन कसले र किन उक्त स्थानमा ल्याएर राखेको हो भन्ने विषयमा गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।
यसअघि नै नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारको अधिकारमाथि गरिएको यस प्रकारको अवरोध निन्दनीय रहेको भन्दै संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिसकेको छ।
नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुम निरज आचर्याले यस्तो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका हुन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ । आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेस्र्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’
उनले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ’स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्दछौँ ।’
एमाले नेता प्रदीप ज्ञवालीले ‘तर्साउने र मुख थुन्ने धृष्टता ?’ भन्दै प्रश्न गरेका छन् ।
पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले यस्तो कदमले आफूहरु नतर्सने बताएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो । र चाहिएको थियो आइन्दा यस्ता घटना सकभर नहुन् भन्नेगरी यथोचित कदम । तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् । तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं । आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं ।’
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो । पार्किङ गरिएका सवारीसाधन दिउँसो प्रहरीले हटाएको छ । सरकार समर्थकले यस्तो गरेको भन्दै यस कदमको सर्वत्र विरोध भइरहेको छ ।










