नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसँग नरहेको आरोप लगाएका छन् ।
मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गरे । २३ लाख रिफिल हुनुपर्ने ग्यास सिलिण्डर कहाँ छ ? उनको प्रश्न छ । उनले बजार अनुगमन गर्न नियामक निकाय चुकिरहेको बताए । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति भइरहेको दाबी गरेपनि उपभोक्ता भने अझै लाइनमा बस्न बाध्य रहेको बताए ।
उनले भने ‘२३ लाख सिलिन्डर रिफिल हुनुपर्ने त्यो भएन भन्ने कुरा आयो, २३ लाख सिलिन्डर कहाँ गयो ? हामीसँग डाटा पनि छैन ? डाटा कलेक्सन गरेर यो २३ लाख सिलिन्डर कहाँ गयो पत्ता लगाउन पर्दैन ? फेरी ग्यास आपूर्ति पनि २० प्रतिशत बढी आएको छ, तर उपभोक्ता गएर लाइन बसिरहेका छन्, पाएका छैनन् ।’
उनले निगमले टेकुबाट मात्रै ग्यास वितरण गरेको उल्लेख गर्दै सबै डिपोबाट ग्यास वितरण गर्न आग्रह गरे । सांसद कार्कीले वितरण प्रणालीलाई सुधार गर्न पनि आग्रह गरे । यस अगाडी समितिको बैठकमा निगमले नै एक साताभित्र समस्या समाधान हुने आश्वासन दिएपनि १९ दिन बितिसक्दा समेत अवस्था नफेरिएको उनको आरोप छ ।
उनले नेपालमा पेट्रोलियम क्षेत्र सञ्चालनका लागि कानुन निर्माणमा जोड दिए । हालसम्म पनि उक्त कानुन नबन्नु गम्भीर विषय रहेको उल्लेख गर्दै उनले कानुनी आधारबिना कसैलाई कारबाही गर्न नसकिने बताए ।
दसैँ–तिहार नजिकिँदै गएको अवस्थामा ग्यास आपूर्ति समस्या समाधान नभएमा थप संकट उत्पन्न हुन सक्ने उनले चेतावनी दिए । सांसद कार्कीले बजार अनुगमन प्रभावकारी बनाउन पनि सरकारसँग माग गरे । उनले सेटिङका आधारमा नभई उपभोक्ताको हितलाई केन्द्रमा राखेर अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।










