गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारलगायतका गम्भीर अपराधको अनुसन्धान सरकारले निरन्तर गरिरहेको बताए ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाएर न्याय दिन नसकेको विषय उठाएका थिए ।
उनले ‘निर्मला पन्त हत्या प्रकरणमा सरकारले दोषी पत्ता लगाउन नसक्नु राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री गुरुङले विगतका सरकारतर्फ संकेत गर्दै ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’ भन्दै प्रतिप्रश्न गरे ।
उनले भने, ‘सरकार मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर लागिरहेको छ । यो गृहमन्त्रालयको मुख्य जिम्मेवारी भएकोले पनि हामी सचेत छौँ । हत्या, हिंसा, बलात्कारलगायतका अपराधको अनुसन्धान हामीले क्रमबद्ध रूपमा गरिरहेका छौँ ।’
निर्मला पन्त प्रकरण संवेदनशील विषय भएको भन्दै उनले यस विषयमा धेरै बोल्नु उचित नहुने बताए ।
‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवेदनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणमा अनुसन्धान भइरहेको भन्दै अबदेखि यस विषयलाई राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाउन सांसदहरूलाई आग्रह गरे ।
उनले भने, ‘यस विषयमा हामीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’
उनले बलात्कारजस्ता संवेदनशील विषय संसदमा उठाउँदा पीडित परिवारलाई थप पीडा पुग्न सक्ने भन्दै यस्ता विषय व्यक्तिगत रूपमा राख्न आग्रह गरे ।










