भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।

नदीले बगाएर टाढा पुर्याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गरेका हुन् ।

विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरेर कार्यसम्पादन भइरहेको उनले जानकारी दिए ।
एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म १ हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ ।
विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा समेत क्षति पुगेको र सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई चिर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ । यसले देश–विदेशमा रहेका आफन्तहरूलाई शव पहिचान गर्न सहज भएको छ ।
यसका साथै डीएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइते व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्याङ्क प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको छ ।
यद्यपि, भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै पनि केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको वास्तविक संख्या यकिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।










