२०८३ श्रावण २७ गते बुधबार
२०८३ श्रावण २७ गते बुधबार

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ । अर्थतन्त्रमा देखिएको सुस्ती र उपभोक्ता मागमा आएको कमीका बीच अटोमोबाइल बजारलाई चलायमान बनाउने तथा नयाँ प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको नाइमाले जनाएको छ ।

आयोजकका अनुसार यस वर्षको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रविधि र सेवाहरू प्रदर्शन गरिनेछन् । विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू प्रदर्शनीको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ ।

गत वर्षको तुलनामा यसपटक सहभागी ब्रान्डको संख्या उल्लेख्य रूपमा बढेको आयोजकको दाबी छ । अटोमोबाइल कम्पनीहरूले नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्न एक्स्पोलाई प्रमुख प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेपछि लन्च हुने सवारीसाधनको संख्या पनि बढेको हो ।

प्रदर्शनी अवधिभर विभिन्न ब्रान्डले विशेष छुट, एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ सुविधा तथा अन्य ग्राहकमुखी योजना सार्वजनिक गर्ने तयारी गरेका छन् । यसले नयाँ सवारी खरिद गर्न चाहने उपभोक्तालाई एकै स्थानमा विभिन्न विकल्पको तुलना र छनोट गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालको अटोमोबाइल क्षेत्रको ‘कुम्भमेला’का रूपमा समेत लिने गरिएको छ । बजारमा नयाँ प्रविधि भित्र्याउने, उपभोक्तालाई नवीनतम सवारीसाधनसँग परिचित गराउने तथा अटोमोबाइल व्यवसायमा उत्साह थप्ने उद्देश्यले आयोजना हुने यो प्रदर्शनीलाई यस वर्ष अझ भव्य बनाइएको आयोजकले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।