दलहरुको सुरक्षा निकायसँग समन्वय नहुँदा आक्रमणका घटना बढ्यो

0
116

मंसिर १५,काठमाडौं । निर्वाचन आयोगका आयुक्त सुधीर शाहले राजनीतिक दलहरुका कारण सुरक्षा चुनौती बढेको आरोप लगाएका छन् । उनले राजनीतिक दलहरुले आफनो चुनावी सभा गर्ने स्थान र क्षेत्रको सुरक्षा निकायसँग छलफल नगर्दा उम्मेद्वार र पार्टी लक्षित गरि आक्रमणका घटना भइरहेको बताए ।

दोश्रो चरणको निर्वाचन आउन ६ दिन बाँकी हुँदा निर्वाचन हुने ४५ वटा जिल्लाको सुरक्षाको विषयमा आयोगपरिसरमा छलफल गर्दै निर्वाचन आयोगका आयुक्तहरुले सुरक्षा चुनौती बढ्नुमा राजनीतिक दलहरु नै मुख्य जिम्मेवार रहेकोे बताए । उनले दलहरुले चुनावी सभामा दिने अभिव्यक्ति र आक्रमणका घटना भइरहँदा समेत सुरक्षा निकायसँग समन्वय नहुनु नै सुरक्षा चुनौतीको प्रमुख कारण भएको बताए । सुरक्षा निकायलाई दोष दिनुभन्दा पनि आक्रमणकारीप्रति दलहरु आक्रामक भन्दा पनि रक्षात्मक भएको समेत उनको तर्क थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त शाहले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई सुरक्षा चुस्त पार्न निर्देशन दिएको जानकारी दिए । त्यसैगरि आयोगले राजनीतिक दलहरुलाई पुनः आफनो चुनावी कार्यक्रम निर्वाचन आचारसंहिता अन्तर्गत रहेर सम्पन्न गर्न समेत पुनः आग्रह गरेको छ ।