पहिलो चरणमा बहुमत र दोस्रो चरणमा पनि अग्रस्थानमा आउने आँकलन छ : नेका नेता खाँण

0
135

मंसिर १५,ललितपुर। नेपाली कांग्रेसले पहिलो चरणमा बहुमत सिटमा जित्ने र दोस्रो चरणमा पनि पार्टी अग्रस्थानमा आउने बताएको छ ।

नेपाली कांग्रेस प्रचार प्रसार समन्वय उपसमिति केन्द्रीय मिडिया सेन्टरको आयोजनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले सो कुरा बताएका हुन् ।

“पहिलो चरणमा राम्रो पोजिशन आएको छ, ३८ स्थान मध्ये बहुमत हाम्रो आउछ भन्ने आँकलन छ” नेता खाँणले भने,“दोस्रो चरणका १२८ स्थानमा पनि धेरै स्थानमा हामी अग्रस्थानमा छौ।”उनले यसबीचमा नेपाली कांग्रेसको पक्षमा जनमत अझ राम्रो भएको पनि दावी गरे ।

उनले भने,“पहिलो चरणको निर्वाचनमा सहभागी भएका नेताहरु पनि यो चरणमा परिचालित हुनुभएको छ र केन्द्रीय प्रतिनिधिहरु पनि खटिएका छन् , यसले नेपाली कांग्रेसको पक्षमा राम्रो माहोल बनाएको छ ।”उनले यो निर्वाचनमा नेपाली कांग्रेसले उठाएका मुद्दाहरु पनि निकै सान्दर्भिक भएको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक रहेका नेता खाँणले यसपटक नेपाली कांग्रेसले उठाएको आर्थिक समृद्धि र लोकतन्त्रको संरक्षणको मुद्दा निकै सान्दर्भिक भएको पनि बताए ।उनले समृद्ध नेपाल बनाउने अभियानको थालनी नेपाली कांग्रेसले मात्र गरेको पनि बताए ।