हजरत मोहम्मदको जन्म दिवसको अवसरमा मुस्लिम समुदायको शान्ति पदयात्रा

0
127

मंसिर १६,मोरङ ।  मुस्लिम धर्माबलम्बीहरुले मुलुकमा दिगो शान्ति र स्थायीत्वको कामना गर्दै शनिवार विराटनगरमा शान्ति पदयात्रा आयोजना गरेका छन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसको अवसरमा मुस्लिम समुदायले शान्ति पदयात्रा आयोजना गरेका हुन् ।

अल्लाहको अति निकट व्यक्तित्व भएको नाताले मुस्लिम धर्माबलम्बीहरुले हजरत मोहम्मदलाई पैगम्बरको रुपमा मान्दै आएका छन् । इस्लाम धर्मको प्रवर्तक रहेका हजरत मोहम्मदको जन्म दिनलाई मुसलमान धर्माबलम्बीहरुले ’इद मीलादुन नबी दिवस’का रुपमा मनाउने गर्दछन् ।

शान्ति, मित्रता र सामाजिक सद्भावको कामना गर्दै मोरङका मुस्लिम धर्माबलम्बीहरुले विवाद र असहमतिलाई वार्ता र सम्वादबाट समाधान गर्न आग्रह समेत गरेका छन् । विभिन्न झाँकी सहित निकालिएको सो पदयात्राले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

स्थानीय जामे मस्जिदबाट नारा लगाउदै शुरु भएको शान्ति पदयात्रामा प्रत्येक घरका मुसलमान वृद्धहरु देखि बालबालिकाहरु सहभागी भएका थिए ।