२०८३ कार्तिक २ गते आईतवार
२०८३ कार्तिक २ गते आईतवार

नेपालका नेताहरूलाई ‘होली वाइन’ खुवाउने हान हाक जा मुनलाई दुई वर्षको जेल सजाय

दक्षिण कोरियाको अदालतले नेपालका नेताहरूलाई ‘होली वाइन’ खुवाउने विवादास्पद युनिफिकेशन चर्चकी नेतृ हान हाक जा मुनलाई दुई वर्षको जेलसजाय सुनाएको छ ।

राजनीतिक कोष ऐन उल्लङ्घन गरेको र तत्कालीन प्रथम महिला किम किओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।

यो मुद्दा दक्षिण कोरियामा विशेष अनुसन्धान टोलीमार्फत अघि बढाइएको थियो । चर्चले आफ्नो राजनीतिक प्रभाव बढाउन र विभिन्न व्यापारिक स्वार्थ सिद्ध गर्न अनुचित दबाब दिएको अदालतको ठहर छ । अदालतले दुबै पक्षलाई एक साताभित्र अपिल गर्न समयसीमा दिएको छ ।

८३ वर्षीय हाक यस चर्चका संस्थापक सन म्योङ मुनकी विधवा पत्नी हुन् । उनीविरुद्ध सन् २०२२ मा दक्षिण कोरियाकी तत्कालीन प्रथम महिला किम किओन हिलाई ग्राफ ब्रान्डको हिराको हार, च्यानल ब्यागलगायतका विलासी सामाग्री उपहारमा दिएको अभियोग थियो ।

यस अभियोगमा गत जनवरीमा किमलाई सोल डिस्ट्रिक कोर्टबाट २० वर्षको सजाय भइसकेको थियो । किओनमाथि चर्चका सदस्यहरुलाई आफ्नो पतिको कन्जरभेटिभ पिपुल पावर पार्टीमा भर्ति गरेको तथा सत्तामा छँदा जागिरमा लगाएको पनि आरोप लागेको थियो ।

अप्रिलमा उच्च अदालतले किओलको सजाय वृद्धि गरेर ४ वर्षको सजाय सुनाएको थियो । किओल पूर्व राष्ट्रपति योन सुक योलकी पत्नी हुन् । सन् २०२५ मा संसद्ले उनीमाथि महाभियोग प्रस्ताव पारित गरेको थियो । राष्ट्रपति छँदा लोकतन्त्र मास्ने मनसायले डिसेम्बर २०२४ मा सैनिक शासन लागु गरेको आरोप राष्ट्रपति योलविरुद्ध थियो ।

दक्षिण कोरियामात्रै नभएर विश्वभरका नेताहरुसँग हाक जाको राम्रो सम्बन्ध छ । नेपालमा मंसिर २०७५ मा काठमाडौंको हयात होटलमा युनिमर्शल पिस फेडेरेशन (युपिएफ) ले आयोजना गरेको ‘एशिया प्यासिफिक सम्मेलनमा हाक जाले सहभागीहरुलाई होली वाइन खुवाएकी थिइन् ।

हाक नेतृत्वको युपिएफ युनिफिकेशन चर्चसँग आबद्ध संस्था हो । उक्त सम्मेलनमा बर्माकी नेतृ आङ सान सुची र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित १ हजार ५ सय प्रतिनिधि सहभागी थिए ।

उक्त कार्यक्रममा नेपालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि स्थानीय तहका प्रमुखसम्मलाई होली वाइन पिउनका लागि जोडीसहित आउन निमन्त्रणा गरिएको थियो ।

युनिफिकेशन चर्चले रगत शुद्ध गर्ने भन्दै मानिसहरुलाई होली वाइन खुवाउँदै आएको छ । तर विवाद भएपछि प्रधानमन्त्री, मन्त्री र अधिकांश स्थानीय निकायका प्रमुख वाइन पिउने कार्यक्रममा गएनन् । युनिफिकेसन चर्चको मान्यताअनुसार होली वाइन पिउने जोडीहरू मुन दम्पतीको वंशमा समाहित हुन्छन् ।

विवाहित वा विवाहयोग्य जोडीहरूलाई यस कार्यक्रममा समावेश गरिन्छ । होली वाइन नपिईकन यस चर्चले कसैलाई पनि विवाहको मान्यता दिँदैन । समापनमा भने प्रधानमन्त्री ओली पुगेका थिए ।

उनलाई हाक जाले गुड गभर्नेन्स अवार्डसहित एक लाख डलर पुरस्कार दिएकी थिइन् । लगत्तै, ओलीले उक्त पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।

परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको अगुवाईमा यस सम्पन्‍न भएको थियो । ढकालले सन् २०१७ मा नेपाली टाइम्ससँगको एक अन्तर्वार्तामा आफु युनिफिकेशन अभियानसँग जोडिएको स्विकारेका थिए ।

युनिफिकेशन चर्चसँग सम्बन्धित गतिविधिहरूलाई नियमित रूपमा प्रचारप्रसार गर्ने टी प्यारेन्ट्स डट ओआरजी नामक साइटले २१ मे २०१२ मा ‘युनिफिकेसन चर्चका नेपालस्थित नेता ढकाल मन्त्री नियुक्त शीर्षकमा’ समाचार प्रकाशित गरेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।