काठमाडौँ महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।

अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ । शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् ।
उनले काठमाडौँमा एम्बुलेन्सको सङ्ख्या पर्याप्त भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन् । कार्यवाहक प्रमुख डंगोलका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिनेछ ।

आपत्कालीन अवस्थामा छिटो स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले बाइक एम्बुलेन्सलाई पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिने उनले बताइन् ।
महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको आवश्यकता र उपलब्ध तथ्याङ्कका आधारमा पूर्वाधार विकास, उपकरण व्यवस्थापन तथा प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाहमा सहयोग र सहकार्य गर्दै आएको पनि डंगोलले जानकारी दिइन् ।











