मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा निस्किएका छन् भने देशका विभिन्न स्थानमा सार्वजनिक सेवा प्रभावित बनेका छन् ।
पानामास्थित भूगर्भ विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपास शुक्रवार बेलुका ५:३० बजेसम्म ४० भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको छ, जसमध्ये १२ वटा ५.० म्याग्निच्युडभन्दा बढीका छन् । दिउँसो ३:२५ बजे गएको ६.९ म्याग्निच्युडको परकम्पले स्थानीयलाई थप त्रसित बनाएको थियो । शुरुवाती समयमा अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरे पनि पछि त्यसलाई परिमार्जन गर्दै ७.७ कायम गरेको थियो ।

भूकम्पका कारण राष्ट्रिय खानेपानी तथा ढल निकास प्राधिकरणका विभिन्न प्रशोधन केन्द्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा पानीको आपूर्तिमा समस्या देखिएको छ । राजधानीस्थित टोक्युमेन अन्तर्राष्ट्रिय विमानस्थलमा सावधानीस्वरुप केही समय उडान स्थगित गरी टर्मिनल भवन खाली गराइएको थियो । यद्यपि, प्राविधिक निरीक्षणपछि कुनै क्षति नदेखिएको भन्दै विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
पानामा नहर प्राधिकरणले नहरको सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको छ । सावधानीस्वरुप आपतकालीन प्रक्रिया अपनाउँदै पूर्वाधारहरूको निरीक्षण कार्य सुरु गरिएको छ । पानामाको नागरिक सुरक्षा निकायले हाल भूकम्पको केन्द्रबिन्दु नजिकका क्षेत्रहरूमा क्षतिको विवरण संकलन र उद्धार कार्य गरिरहेको छ ।
भौगोलिक रूपमा पानामा ‘रिङ अफ फायर’ मा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी गतिविधि सामान्य मानिन्छन् । ४० हजार किलोमिटर लामो यस क्षेत्रमा हुने निरन्तरको सिस्मिक गतिविधिका कारण सरकारी निकायले सधैँ उच्च सतर्कता अपनाउँदै आएका छन् । हालसम्म मानवीय हताहतीको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।











