२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि शुरू भएको हो ।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामाभइरहेको हो । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना थालिएको हो ।

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन् । थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् ।

केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको थियो । तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले तार तान्ने काम भइरहेका बेला थारु नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बेपत्ता असई थारुको खोजी भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार भन्दै खारेज गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनैपनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।

पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।

बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे । महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गर्दै त्यस्तो हल्लामा बिल्कुल सत्यता नरहेको दाबी गरे ।

अध्यक्ष ओलीले भने, ‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्नेकुरा पनि सुनियो । तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन । फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन । राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन ।’

अध्यक्ष ओलीले शीर्ष नेतृत्वबीच पार्टी सञ्चालन र नीतिगत विषयमा निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्। सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।

‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,’ उनले भने।

विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उनको भनाइ थियो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने उनले बताए।

‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।

सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताए। खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उनको भनाइ थियो।

थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो।

‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’

महाधिवेशनबाट पारित प्रतिवेदनहरू अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।

कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उनले स्पष्ट पारे। कानुन सबैका लागि समान हुने उल्लेख गर्दै उनले कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।

‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने।

कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।

 रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात्मक मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर तरंगिनी फाउन्डेसनले शनिबार काठमाडौंको अल्फा हाउसमा आयोजना गरेको ‘बाढीपछिको मानसिक स्वास्थ्यः वर्तमान अवस्था र आगामी बाटो’ विषयक छलफल कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

गत भदौ १० गते चीन–नेपाल सीमाक्षेत्र हुँदै त्रिशूली नदी करिडोरमा आएको भीषण बाढी र लेदो बहावले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीका कारण हालसम्म १,४५५ जनाको मृत्यु पुष्टि भएको छ भने करिब ५,००० व्यक्तिहरू अझै बेपत्ता छन् ।

प्रारम्भिक सरकारी प्रतिवेदनअनुसार ६२ जिल्लाका १६ लाख मानिस प्रभावित भएका छन् भने रसुवा, नुवाकोट र धादिङमा मात्रै ३,७०० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

कार्यक्रममा प्रस्तुत अवधारणा पत्रअनुसार बाढीको पानी घट्दै गए पनि प्रभावित क्षेत्रमा मानसिक आघात, भय, अनिद्रा, डिप्रेसन र पोस्ट–ट्राउम्याटिक स्ट्रेस डिसअर्डरका लक्षणहरू तीव्र रूपमा देखा पर्न थालेका छन् ।

आफन्त गुमाएका तथा अझैसम्म बेपत्ता सदस्यको पर्खाइमा रहेका परिवारहरूले संस्कारअनुसार अन्तिम संस्कारसमेत गर्न नपाउँदा उत्पन्न ‘अनिश्चित वियोग’ले दीर्घकालीन मानसिक समस्या निम्त्याएको बताइएको छ ।  

यस विपद्को असर महिला, बालबालिका तथा किशोरीहरूमा अझ गम्भीर देखिएको छ । घरपरिवारको स्याहारको दोहोरो जिम्मेवारी, अस्थायी आश्रयस्थलमा गोपनीयता र सुरक्षाको अभाव, लैङ्गिक हिंसा तथा मानव बेचबिखनको जोखिमले महिलाहरूलाई थप संवेदनशील बनाएको वक्ताहरूले उल्लेख गरे । साथै, उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूमा समेत मानसिक तनावको समस्या देखिएको छ ।  

विपद्पछिको प्राथमिक राहतमा खाद्यान्न र आवाससँगै मानसिक स्वास्थ्य सेवालाई पनि अनिवार्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता कार्यक्रममा औंल्याइयो ।

नेपालमा प्रति एक लाख जनसंख्या बराबर ०.६८ जना मात्र मनोचिकित्सक रहेको र अधिकांश स्वास्थ्य संस्थाहरूमा मानसिक स्वास्थ्य सेवाको पहुँच नभएको सन्दर्भमा स्थानीय तहमै मानसिक प्राथमिक उपचार तथा परामर्श सेवा विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिए ।  

छलफलमा सरकारी प्रतिनिधि, मनोसामाजिक तथा मानसिक स्वास्थ्य विज्ञ, गैरसरकारी संस्था, महिला अधिकारकर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विपद् व्यवस्थापन र पुनर्लाभ योजनाभित्र मानसिक स्वास्थ्यलाई बजेटसहितको प्राथमिक कार्यक्रमका रूपमा समावेश गरी समुदायस्तरमै लैङ्गिक–संवेदनशील सेवा प्रवाह गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्थामार्फत सेवा उपलब्ध गराउन आदेश दिएको हो ।

अधिवक्ता सरिता अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्थाले सर्वसाधारण नागरिकलाई समस्या परेको उल्लेख गरिएको थियो । यसबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा प्रविधिमा पहुँच नभएका नागरिकसमेत आफ्नै बैंक खाताबाट रकम निकाल्न र वित्तीय सेवा उपभोग गर्नबाट वञ्चित भएको जिकिर गरिएको थियो ।

सर्वोच्चले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ ले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाएको हदसम्म यो व्यवस्था बदर हुने ठहर गरेको छ ।

आदेशमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्रलगायत पहिचान खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिन भनिएको छ । वैकल्पिक कागजातको दुई चरणको परीक्षण गरी बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत परमादेश जारी गरिएको छ ।

सर्वोच्चले व्यक्तिगत विवरणको सुरक्षा, गोपनीयताको प्रत्याभूति र डिजिटल अधिकारको संरक्षणका लागि समग्र तथ्याङ्क संरक्षणसम्बन्धी स्वतन्त्र ऐन निर्माणको प्रक्रिया अघि बढाउन पनि प्रत्यर्थीका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था कार्यान्वयन गर्दा नागरिकको मौलिक अधिकार र वित्तीय सेवामा पहुँच प्रभावित हुन नदिनुपर्ने विषयलाई सर्वोच्चको आदेशले जोड दिएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच समझदारी भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

परियोजनाअन्तर्गत दुवै प्रदेशमा कुल २ हजार २ सय १६ किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गरिनेछ भने ५५ वटा उच्च क्षमताका राउटर तथा २८ वटा डिडब्ल्युडिएम उपकरणहरू जडान गरिनेछ । यस पूर्वाधारमार्फत दुवै प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ । ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाका लागि ग्रामीण दूरसञ्चार विकास कोषबाट करसहित अधिकतम २ अर्ब १ करोड रुपैयाँसम्म लागत अनुदान उपलब्ध गराइनेछ । 

कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल डिभाइड न्यूनीकरण गर्दै डिजिटल रूपान्तरण र अर्थतन्त्रमा टेवा पुर्‍याउन आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले कार्यसम्पादनलाई छिटोछरितो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।  

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार परियोजना सम्पन्न भएपछि दुर्गम तथा ग्रामीण क्षेत्रसम्म ई–शिक्षा, टेलिमेडिसिन, ई–गभर्नेन्स, डिजिटल वित्तीय सेवा र विपद् व्यवस्थापनजस्ता सेवाहरूको पहुँच प्रभावकारी बन्नेछ ।

मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा निस्किएका छन् भने देशका विभिन्न स्थानमा सार्वजनिक सेवा प्रभावित बनेका छन् ।

पानामास्थित भूगर्भ विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपास शुक्रवार बेलुका ५:३० बजेसम्म ४० भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको छ, जसमध्ये १२ वटा ५.० म्याग्निच्युडभन्दा बढीका छन् । दिउँसो ३:२५ बजे गएको ६.९ म्याग्निच्युडको परकम्पले स्थानीयलाई थप त्रसित बनाएको थियो । शुरुवाती समयमा अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरे पनि पछि त्यसलाई परिमार्जन गर्दै ७.७ कायम गरेको थियो ।

भूकम्पका कारण राष्ट्रिय खानेपानी तथा ढल निकास प्राधिकरणका विभिन्न प्रशोधन केन्द्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा पानीको आपूर्तिमा समस्या देखिएको छ । राजधानीस्थित टोक्युमेन अन्तर्राष्ट्रिय विमानस्थलमा सावधानीस्वरुप केही समय उडान स्थगित गरी टर्मिनल भवन खाली गराइएको थियो । यद्यपि, प्राविधिक निरीक्षणपछि कुनै क्षति नदेखिएको भन्दै विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

पानामा नहर प्राधिकरणले नहरको सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको छ । सावधानीस्वरुप आपतकालीन प्रक्रिया अपनाउँदै पूर्वाधारहरूको निरीक्षण कार्य सुरु गरिएको छ । पानामाको नागरिक सुरक्षा निकायले हाल भूकम्पको केन्द्रबिन्दु नजिकका क्षेत्रहरूमा क्षतिको विवरण संकलन र उद्धार कार्य गरिरहेको छ ।

भौगोलिक रूपमा पानामा ‘रिङ अफ फायर’ मा पर्ने भएकाले यहाँ भूकम्प र ज्वालामुखी गतिविधि सामान्य मानिन्छन् । ४० हजार किलोमिटर लामो यस क्षेत्रमा हुने निरन्तरको सिस्मिक गतिविधिका कारण सरकारी निकायले सधैँ उच्च सतर्कता अपनाउँदै आएका छन् । हालसम्म मानवीय हताहतीको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। कांग्रेसको खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नाम पनि अनुसन्धानमा जोडिएको थियो ।

सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। यसअघि सीआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। उक्त प्रकरणमा खड्काको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०८२ पुसको अन्त्यमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उनी जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकी थिइन्।

१५औँ महाधिवेशनमा रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्।

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।

 

कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए।

तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा विजयी भएका हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।