२०८३ आश्विन २६ गते सोमबार
२०८३ आश्विन २६ गते सोमबार

नेता कार्यकर्तालाई ओलीको निर्देशन- एमालेमाथि घेराबन्दी जारी छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिएका छन् ।

 

पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध विभिन्न राजनीतिक दलबीच मोर्चाबन्दी हुन सक्ने बताएका हुन् ।

उनले २०७७ सालदेखि नै एमालेमाथि घेराबन्दी सुरु भएको दाबी गर्दै पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराइएको आरोप लगाए । २०७९ सालको निर्वाचनमा पनि विभिन्न राजनीतिक दल एमालेविरुद्ध एकजुट भएर लागेको उनको भनाइ थियो ।

त्यस्तो प्रतिकूल परिस्थितिमा समेत एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै ओलीले आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमार्फत एमाले र पार्टीका नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाउँदै उनले पार्टीभित्रैका केही नेताका गतिविधिले पनि चुनौती थपेको बताए ।

ओलीले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालू छ अहिले पनि । घेराबन्दी चालू छ । २०७७ सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो । हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ । फेरि २०७८ साल भदौ १० गते हाम्रो पार्टी फुटाइयो । २०७९ को निर्वाचनमा देश नै हाम्राविरुद्ध चुनावमा मोर्चाबन्दी भयो । फेरि पनि हामी सबैभन्दा लोकप्रिय पार्टी भयौँ ।’

पार्टीभित्र सुदृढ एकताको आवश्यकता औँल्याउँदै ओलीले विगतका विवाद र असमझदारीमा अल्झिनुभन्दा पार्टीको उद्देश्य प्राप्तिमा केन्द्रित हुनुपर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्यका साथ अघि बढेको पार्टी साना–मसिना विवादमा अल्झिन नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने तथा राष्ट्रिय अस्मितामा आँच पुर्‍याउने काम भइरहेको आरोपसमेत लगाए । मुलुकको स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको दाबी गर्दै उनले त्यसको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए ।

आन्दोलनका क्रममा दमन भए त्यसको प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै ओलीले आन्दोलनको नाममा हुने आगजनी र लुटपाटलाई भने अस्वीकार गर्नुपर्ने बताए ।

उनले भने, ‘आगो लगाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई, ठूलो र बलियोले कमजोरलाई बलजफ्ती दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध आन्दोलन गर्नुपर्ने हुन्छ ।’

ओलीले आन्दोलन न्याय, शान्ति, अग्रगमन र जनताको बृहत्तर हितका लागि हुनुपर्ने स्पष्ट पारे । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापना आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ओलीले पार्टीका सदस्यहरूलाई निष्ठापूर्वक सक्रियताका साथ काम गर्न निर्देशन दिँदै अब विगतको योगदानका आधारमा मात्रै मूल्याङ्कन नहुने बताए । पार्टीको नीति र नेतृत्वप्रतिको इमानदारिता, प्रतिबद्धता तथा कर्मशीलतालाई समेत मूल्याङ्कनको आधार बनाइने उनले स्पष्ट पारे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।