२०८३ कार्तिक १६ गते आईतवार
२०८३ कार्तिक १६ गते आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्‌मा उठाउने तयारी गरेको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए।

उनका अनुसार न्याय क्षेत्रका विवादलाई संस्थागत रूपमा सम्बोधन गर्ने र आवश्यक सुधारका विषयलाई संसदीय छलफलमा लैजानेबारे बैठकमा धारणा राखिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी परिचालनको घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले घटना किन र कसको निर्देशनमा भएको हो भन्ने विषयमा छानबिन गर्नुपर्ने निर्णय भएको जानकारी दिए।

उनले प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य दोहोरिन नदिन सरकारलाई निर्देशन दिइएको बताए।

त्यसै सन्दर्भमा रास्वपाले घटनाको छानबिन र दोषीमाथि कारबाहीलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको हो। पार्टीले भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

बाराको फेटा गाउँपालिकामा स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो।

अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच सुरु भएको विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन। प्रहरीले गोली चलाएको घटनाबारे भने औपचारिक पुष्टि गरिसकेको छैन।

इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताएका छन्।

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ ।

आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । वर्षा रोकिएमा ५÷५ ओभरको भएपनि खेल गराउने क्यानले जनाएको छ ।

एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो । 

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। कारागारभित्र सुरुङ खनेर उनीहरू शुक्रबार राति फरार भएका हुन्। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो।

भेरी नदीको किनारमा रहेको जिल्ला कारागारबाट कैदीबन्दीले करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिर निस्किएको पाइएको छ। कारागारबाट बाहिरिएपछि भेरी नदी पार गर्न पुलसमेत रहेकाले उनीहरू पुल तरेर फरार भएको बताइएको छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन्। फरार हुनेमा छ जना कैद सजाय भोगिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन सकेको छैन। घटनाबारे कारागारको सीसीटीभी फुटेज जाँच भइरहेको छ। 

फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ ।

फरार हुनेमध्ये राम विक, कालिप्रसाद रोकाया, धनबहादुर बुढा, रेशम राना र यज्ञ विक जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । कपिल परियार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने तिलक र आदेश भण्डारी चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा थिए। 

कारागारभित्रै सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। लामो सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कहाँबाट ल्याइयो, सुरुङ खन्ने गतिविधि सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीबन्दी कसरी बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रहरीले फरार कैदीबन्दीको खोजी सुरु गरेको छ। उनीहरू कुन दिशातर्फ गए र कहाँ पुगे भन्नेबारे यकिन जानकारी प्राप्त भइसकेको छैन। घटनाको थप विवरण सीसीटीभी फुटेज र स्थलगत अनुसन्धानपछि खुल्ने जिल्ला प्रशासनले जनाएको छ।

एकै पटक कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार हुनुले डोल्पा कारागारको सुरक्षा निगरानी र व्यवस्थापनमा गम्भीर चुनौती देखाएको छ।

बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।

धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराज मार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ ।

सो कान्तिलोकपथका ललितपुर महानगरपालिका-२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ ।

त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका-१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका-७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ।

हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ । 

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए । 

शुक्रबार समाचार लेखेको आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले मध्यरातमा आधिकारिक भनाइ सार्वजनिक गरेको छ। प्रहरीका प्रवक्ता एवं एआइजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरुलाई नियन्त्रणमा लिएको ह्वाटस्एप ग्रुपमा जानकारी गराएका हुन्।

चौतर्फी विरोधपछि प्रधानमन्त्री कार्यालयले पक्राउमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दालले पक्राउमा प्रधानमन्त्री कार्यालयको कुनै हातमा रहेको दाबी गरेकी थिइन्। तर त्यसलाई खण्डन गर्दै प्रहरीले माथिकै निर्देशनमा प्रेसमाथि धरपकट हुन पुगेको जनाएको हो।

त्यसअघि सरकारका कुनै पनि निकायले पत्रकारहरू विश्वमणि सुवेदी धीरज बस्नेत सोबराज बराल सहितलाई किन पक्राउ गरियो र नयाँ पत्रिका र नेपाल प्रेस सहितका सञ्चार गृहमा धरपकट किन गरियो भन्ने विषयमा अनभिज्ञता प्रकट गरेका थिए। पक्राउ गर्ने तर अनभिज्ञता प्रकट गर्ने प्रहरी र सरकारी निकायको रवैयाको चर्को आलोचना भएपछि प्रहरीले प्रधानमन्त्री कार्यालयकै निर्देशनका आधारमा सञ्चार गृहमा धरपकट र पत्रकार पक्राउ गरी गएको औपचारिक जानकारी दिएका दिएको हो।

यस्तो छ प्रहरीको वक्तव्य–
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो। यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे १२ बजे सुरु हुने तालिका छ ।

 

यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ । तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ ।

जारी लिगमा लुम्बिनी र चितवनले एक/एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ । यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।