प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवाको विमानबाट अपराहन्न १: ४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । नेपालबाट ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने र निजी क्षेत्रबाट ५२ सदस्यीय टिम आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विविध क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।











