पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

मलेसिया जाने श्रमिकबाट मलेसियन सरकारसँग भएको सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उनी हाल सम्पर्कविहीन रहेको बताइएको छ ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् ।

त्यस्तै, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
सीआईबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।











