सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसहित कर्णाली यात्रामा निस्किनुभएका नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्मालाई सुर्खेतमा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले भव्य सम्मानका साथ स्वागत गरेका छन्।

मंगलबार सुर्खेत पुग्नुभएका डा. शर्माले स्थानीय पार्टी नेता–कार्यकर्ता, समाजसेवी तथा सामाजिक अगुवाहरूसँग भेटघाट र छलफल गर्नुभएको छ। ग्राउन्ड जिरो कार्यक्रमअन्तर्गत बिहान नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय पुग्नुभएका उहाँले नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूसँग आत्मीय भेटघाट गर्दै स्थानीयस्तरका राजनीतिक विषय, जनताका आवश्यकता र समस्याबारे जानकारी लिनुभएको हो।
यसक्रममा डा. शर्मा नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा समेत पुग्नुभएको थियो। उहाँले खड्काका सहोदर भाइ, नेपाली कांग्रेस सुर्खेतका उपसभापति तथा क्षेत्र नम्बर १ का माननीय विष्णु खड्का र पूर्णबहादुर खड्काकी पत्नी रत्न खड्कासँग भेटघाट गर्नुभएको थियो। विष्णु खड्कासँगको भेटमा उहाँहरूबीच पार्टी एकता, आपसी समझदारी र सहकार्यका विषयमा छलफल भएको थियो।

खड्का निवासमा भएको भेटघाटका क्रममा डा. शर्माले पारिवारिक तथा राजनीतिक आत्मीयता साटासाट गर्नुभएको थियो। कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउँदै अघि बढाउनुपर्ने विषयमा समेत कुराकानी भएको थियो।
पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट र छलफलसँगै डा. शर्मा कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर लिएर त्यस क्षेत्रमा पुग्नुभएको हो। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमअनुसार मंसिर ९ गते जाजरकोटको भेरी नगरपालिका–खलङ्गा बजार, मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट बिरामीको स्वास्थ्य परीक्षण, रोग पहिचान तथा आवश्यक चिकित्सकीय परामर्श प्रदान गरिनेछ। शिविरका क्रममा रोग पहिचान भई थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिनेछ। केएमसीमा रिफर भएका बिरामीको प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिनेछ। यद्यपि, औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।
दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको यस अभियानबाट कर्णालीका नागरिकले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षामा अवसर विस्तारमा समेत डा. शर्माले योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएका छन्।
छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीमध्ये कतिपय अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा यसका उदाहरण हुन्।
स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै आर्थिक रूपमा कमजोर बिरामीको थप उपचार तथा शल्यक्रियामा समेत सहयोग गर्दै आएको छ। कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुन लागेको स्वास्थ्य शिविर पनि यही अभियानको निरन्तरता हो।











