२०८३ मंसिर ११ गते बिहीबार
२०८३ मंसिर ११ गते बिहीबार

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।

 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग सो विधेयकका बारेमा छलफल गरेकी छन् ।

मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रस्तावित संशोधन विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्रै सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाएको मन्त्री मेहताले जानकारी दिइन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।