सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले गत १७ कात्तिकमा समिति खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णयसम्बन्धी सूचना बिहिवार राजपत्रमा प्रकाशित भएपछि समिति विघटनको औपचारिक जानकारी सार्वजनिक भएको हो।
समिति विघटनसँगै यसअघि स्वायत्त निकायका रूपमा सञ्चालन हुँदै आएको चुरे संरक्षणसम्बन्धी काम अब मन्त्रालयको प्रत्यक्ष मातहतमा पुगेको छ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार समितिमार्फत सञ्चालन भइरहेका कार्यक्रम तथा जिम्मेवारी मन्त्रालयअन्तर्गतको चुरे तथा संवेदनशील जलाधार संरक्षण विभागले सम्हाल्नेछ।
सरकारले चुरे क्षेत्रको संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेको थियो। यसलाई संस्थागत र प्रभावकारी बनाउन २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरिएको थियो। त्यसपछि २०७४ जेठ २४ मा सरकारले २० वर्षे गुरुयोजना स्वीकृत गरी समितिमार्फत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

तर, लामो समयदेखि सञ्चालनमा रहेको यस आयोजनाको प्रगति अपेक्षाअनुसार हुन नसकेको तथ्यांकले देखाउँछ। राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको वित्तीय प्रगति ६.४९ प्रतिशत र भौतिक प्रगति ६.७ प्रतिशत मात्रै थियो।
गुरुयोजना कार्यान्वयनका लागि सरकारले २ खर्ब ४९ अर्ब ७० करोड १९ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको थियो। तर समिति गठन भएयता सरकारले १६ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी मात्रै खर्च गरेको छ। यही कमजोर प्रगतिका बीच सरकारले समिति नै विघटन गरेर यसको काम मन्त्रालयको संरचनाभित्र समेट्ने निर्णय गरेको हो।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गुरुयोजना कार्यान्वयनको एक दशकको प्रगति र उपलब्धिको समीक्षा गरेर यस्तो निर्णय गरिएको हो। अब चुरे संरक्षण अभियान मन्त्रालयअन्तर्गतको विभागीय संरचनाबाट अघि बढ्नेछ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई नयाँ संरचनामा लैजाने विषय यसअघि पनि उठ्दै आएको थियो। सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा चुरे संरक्षण आयोजनाको पुनर्संरचना र गुरुयोजना पुनरावलोकन गर्ने घोषणा गरेको थियो। कार्यक्रमलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाउने सरकारको योजना थियो।
नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लामा चुरे क्षेत्र फैलिएको छ। उत्तर–दक्षिण १० देखि ५० किलोमिटरसम्म चौडाइ रहेको यो क्षेत्रमा साना तथा ठूला गरी १६४ वटा नदी प्रणाली छन्। गुरुयोजनाले २० वर्षभित्र यी नदी प्रणालीको व्यवस्थापन गर्ने लक्ष्य राखेको थियो।
चुरे क्षेत्रको संवेदनशीलता र यसको वातावरणीय महत्त्वलाई ध्यानमा राख्दै सरकारले संरक्षण कार्यक्रम सुरु गरेको थियो। तर वनजंगल, ढुंगा, गिट्टी तथा बालुवाको अनियन्त्रित दोहन र बढ्दो मानवीय गतिविधिले चुरे क्षेत्रको प्राकृतिक सन्तुलनमा चुनौती थपिँदै गएको छ।
चुरेबाट बग्ने नदी तथा खोलाले वर्षायाममा तराई मधेसका खेतीयोग्य जमिनमा बालुवा र पाँगो माटो थुपार्ने गरेका छन्। बाढी, डुबान र कटानका कारण बस्ती तथा कृषि क्षेत्रसमेत प्रभावित हुँदै आएका छन्। चुरे क्षेत्रमा पानीका स्रोत सुक्ने समस्या पनि बढ्दो छ।
तराई मधेसमा नेपालको कुल जनसंख्याको करिब आधा हिस्सा बसोबास गर्ने भएकाले चुरे क्षेत्रको संरक्षणलाई जनजीविका र वातावरणीय सुरक्षासँग समेत जोडेर हेरिँदै आएको छ। चुरेको माटो बग्न नदिने, जलाधार क्षेत्रको पारिस्थितिकीय प्रणाली बलियो बनाउने र तराई मधेसमा पानीको उपलब्धता सहज बनाउने उद्देश्य कार्यक्रमको थियो।
समितिले सुरुका वर्षमा विभिन्न साझेदार निकायसँग समन्वय गरेर संरक्षणका कार्यक्रम सञ्चालन गरेको थियो। संघीयता कार्यान्वयनपछि स्थानीय तहमार्फत कार्यक्रम अघि बढाइएको थियो। आर्थिक वर्ष २०७६/७७ पछि भने समितिअन्तर्गतका पाँचवटा कार्यक्रम कार्यान्वयन इकाइबाट काम हुँदै आएको थियो।
समितिले नदी तथा खोलाका किनार स्थिरीकरण, तटबन्ध निर्माण, गल्छी र पहिरो नियन्त्रण, खहरे व्यवस्थापन, सिमसार तथा तालतलैयाको संरक्षण र पुनरुत्थानलगायत काम गर्दै आएको थियो। त्यस्तै पोखरी निर्माण तथा संरक्षण, भूमिगत जल पुनर्भरण, वर्षाको पानी संकलन र सतहमुनिको पानी उपयोगका कार्यक्रम पनि सञ्चालनमा थिए।
यसका अतिरिक्त भिरालो जमिनमा फलफूल खेती विस्तार, कृषि वन प्रवर्द्धन, नदी उकास जग्गाको संरक्षण तथा तारबार गर्ने कामसमेत समितिको जिम्मेवारीमा थियो।
नेपाली सेनाले पनि आर्थिक वर्ष २०७२/७३ देखि वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत समितिसँग सहकार्य गरेर चुरे संरक्षणका काम गर्दै आएको थियो।












