खोटाङ, ४ साउन । राजनीतिक दलहरुको मिलेमतोमा जिल्लामा १३ गाउँपालिका बनाउनै प्रस्तावपेस गरेका छन् । स्थानीय शान्ति समितिको संयोजनमा आयोजित सर्वदलीय बैठकले गाउँपालिकाको सीमा र सङ्ख्याका विषयमा बहस तथा छलफल गर्दै जिल्लामा सो सङ्ख्याका गाउँपालिका प्रस्ताव गरेको हो । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले खोटाङमा बढीमा पाँच गाउँपालिका र दुई नगरपालिका बनाउनुपर्ने प्रस्ताव गरेको छ । आयोगको मापदण्डले जिल्लाका सबै क्षेत्र समेट्न नसक्ने भन्दै ती दलले १३ इलाकालाई नै गाउँपालिका बनाउन प्रस्ताव गरेका हु्न् । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा पाँच मात्र गाउँपालिका बनाइए भौगोलिक विकटताका कारण सर्वसाधारणले कुनै नयाँपन अनुभूति गर्न नपाउने शान्ति समिति खोटाङका संयोजक श्याम राईले बताउनुभयो । “आकारमा पनि छिमेकी जिल्लाहरुभन्दा हाम्रो जिल्ला ठूलो छ ”, उहाँले भन्नुभयो, “ठूलो भएकै कारण सबै क्षेत्रलाई समेट्न गाउँपालिकाको सङ्ख्या बढी प्रस्ताव गरिएको हो ।” स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेको संयोजकत्वको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले स्थानीय तह पुनःसंरचनाका विषयमा विभिन्न क्षेत्रका विज्ञसँग छलफल तथा परामर्श थालेको छ । आफ्नो गाविस गाउँपालिकामा गाभिने भएपछि प्रत्येक गाविसका जनताले समेत सोबारे छलफल थालेका छन् ।