२०८१ माघ २६ गते शनिबार
२०८१ माघ २६ गते शनिबार

विभिन्न सहकारीको बचत रकम अपचलन गरी फरार (गितेन्द्रबहादुर) जीबी राईको राहदानी (पासपोर्ट) रोक्का भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का भएको हो ।

जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले राईको पासपोर्ट केही समयअघि नै रोक्का भएको जानकारी दिएकी छन् । राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको उनले बताइन् ।
यसअघि गत वैशाख ३० गते पनि उनको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो । तर त्यतिबेला उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय गरेको थियो ।

राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो। पछिल्लो समय सम्पत्ति शुद्धिकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको हो ।

उक्त ऐनको दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्न सकिने अवस्थाबारे खुलाइएको छ । राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न सकिने भनिएको छ ।

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

यद्यपि उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने बताइएको छ ।

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

त्रिवि मैदानमा बिहीबार भएकाे खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

 
 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ३३.४२ अंकले घटेको हो ।

बिहीबारको कारोबारमा उद्योग र म्यूचुअल फन्ड सेक्टर बाहेक अन्य सबै सेक्टरको सूचकांक घटेको छ । जसमध्ये सबैभन्दा धेरै जीवन बिमा समूहको सूचकांक १८०.४१ अंकले घटेको छ भने उद्योग समूहको २६.५३ अंकले बढ्यो ।

बिहीबारको कारोबारमा २०४ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ४० वटा कम्पनीको शेयर मूल्य घट्यो ।

त्यस्तै, आज त्रिशूली जलविद्युत कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरेका छन् भने जानकी फाइनान्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

 नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (बिहीबार) भएको पहिलो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । सुपरओभरमा विराटनगर किंग्सलाई हराउँदै पोखरा विजयी भएको हो ।

दुवै टोलीले सुरूमा बराबरी खेलेपछि खेल सुपरओभरमा गएको थियो । एनपिएलमा पहिलो पटक सुपरओभरबाट नतिजा टुंगिएको हो । सुपरओभरमा सुरूमा ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो । रेमन रिफरले १७ तथा आन्द्रेस गसले १ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले सुपरओभरमा पाँच रन मात्र बनायो । मार्टिन गप्टिल र निकोलस क्रिटोन दुवैले दुई रन मात्र बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट एडवर्ड्सले सर्वाधिक ४५ रन बनाएका थिए । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा एलबीडब्ल्यू आउट भए । यस्तै लोकेश बमले २६, निकोलस क्रिटोनले १९ तथा वसीर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमन रिफरले दुई तथा दिनेश खरेल र कुशल भुर्तेलले एक–एक विकेट लिए । १४० रनको लक्ष्य बोकेर जवाफी ब्याटिङमा मैदानमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

पोखराका लागि आन्द्रेस गसले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले ३१ तथा रेमन रिफरले अविजित ३४ रन बनाए। माइकल लिस्कले ११ र दिनेश खरेलले पनि ११ रनको पारी खेले । बलिङतर्फ विराटनगरका प्रतीश जीसीले चार विकेट लिए । क्रिस सोलले दुई विकेट लिए ।

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

आज अपराह्न केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने तयारी छ ।

पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ ।

बुधबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बताएका छन् ।

उनले उक्त कागजात कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई पठाएको बयान दिएका हुन् ।

उनले कम्बोडियामा बस्ने एक नेपालीले प्रधानमन्त्री ओलीले लगानी गरेको विषयमा फोनमा बताएको र सोही आधारमा आफूले बोलेको बयान दिएका हुन् ।

प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका छन्– ‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए । खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए । त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए,’ प्रसाईंले बयानमा भनेका छन्, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए । यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन ।’

प्रसाईंलाई सरकारी वकिल कार्यालयले साढे ७ वर्षसम्मको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तो छ प्रसाईंले दिएको बयान

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू विदेश पलायन, सामान्य नागरिकले महँगीको मारमा झेल्नु परेको पीडा पीरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रूपमा मैले विगत तीन वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अवरोध सिर्जना गर्ने नेपालका वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ’कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड अमेरिकी लगानी गरेको त्यसको नेपाली अन्दाजी रू. साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो बिषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए ।

खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली विजनेस फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए ।

त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेउ भनेकोमा उनले पठाइदिए । यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन ।

गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, न त हाम्रो देशका प्रधानमन्त्री ठूलो व्यापारी, न त ठूलो व्यवसायी, न त ठूलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनतासामु प्रष्ट पारौं भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गरेँ ।

त्यस क्षणमा मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरूले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाई बिग्दैन, संसारमा दुर्गा प्रसाईं मर्छ, बिग्दैन ।

संसारमा दुर्गा प्रसाई झुक्छ, तर बिग्दैन किनभने मैले नेपालीहरू रोएको, नेपाली चेलिबेटीहरू रोएको देखेको छु’ भन्ने लगायतको शब्दहरूमा बोल्दै सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाएको थिए ।

सोसँग सम्बन्धित विषयमा संवाद गर्दै गर्दाको भिडिओलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकबाट ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र… ….’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडिओ समेत अपलोड/पोष्ट गरेको हुँ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पशुपति आर्यघाटमा शव व्यवस्थापनमा ५ लाख दिने घोषणा गरेका छन्। 

बुधबार ९ वटा बेवारिसे शवको दाहसंस्कारमा सहभागी हुँदै उनले कात्रो किन्न समेत सहयोग नपाएको सुनाएपछि आफूले १०० वटा लाश जलाउन ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

उनले बेवारिसे शवहरूको निशुल्क दाहसंस्कार गर्न सरकारले व्यवस्था गर्न आग्रह गरेका छन्।

डा. शर्माले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतलाई नोबेल पुरस्कार दिनुपर्ने उल्लेख गर्दै, पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समेत भ्रष्टाचार भइरहेको खुलासा गरे। उनले संघीय संसदको तलब भत्ता नलिने एक मात्र सांसदका रूपमा देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।

बेवारिसे व्यवस्थापन केन्द्रले हालसम्म ५६०० भन्दा बढी शवहरूको व्यवस्थापन गरिसकेको छ। यद्यपि, सरकारले निशुल्क सेवा दिने प्रतिबद्धता जनाए पनि ठोस सहयोग नपाएको गुनासो केन्द्रका अध्यक्ष बस्नेतले व्यक्त गरेका छन्। डा. शर्माको यो पहलले समाजमा सकारात्मक सन्देश फैलाएको छ र मानवता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ । बयान सकिएपछि उनीमाथि प्रहरीले अभियोजनका लागि गृहकार्य थालेको छ । उनलाई फेरि पाँचै जिल्लामा घुमाएर मुद्दा दायरको तयारी छ । 

लामिछानेलाई बुधबार पर्सामा बयान पूरा गरी कास्की लगिएको छ । कास्कीमा आगामी साताभित्र मुद्दा दायर गर्ने प्रहरी तयारी छ । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘रायसहितको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाउने तयारीमा छौँ ।’ 

कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी  कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब नौ दिन मात्र बाँकी छ । गत ६ असोजमा सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । 

प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ । 

कास्कीमा थुनछेक आदेश भएपछि लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा लगेर मुद्दा दायर गर्न लागिएको छ । यसअघि ती जिल्लामा लगेर लामिछानेको बयान लिइएको थियो । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसम्बन्धी अभियोग लगाउने तयारी छ । तर, सम्पत्ति शुद्धीकरणको मुद्दा पाँचै जिल्लामा वा एक जिल्लामा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ ।

गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गीतेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् । पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो । लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ । गोरखा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीमा तानिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाएर आन्दोलन गर्दै आएको छ ।

पाँच जिल्लामा लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलाउने प्रहरी तयारी छ । तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा भने पाँचै जिल्लामा चलाउने कि एक ठाउँमा मात्र चलाउने भन्नेमा प्रहरी अन्योलमा छ । यस विषयमा प्रहरीले मौखिक रूपमा महान्यायाधिवक्ता कार्यालयको समेत राय मागेको स्रोत बताउँछ । प्रहरीले गत वैशाखदेखि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्ने अधिकार पाएको हो । नयाँ अभ्यास भएकाले यससम्बन्धी कानुनको कार्यान्वयनमा प्रहरी प्रस्ट छैन । अनुसन्धानमा आबद्ध केही प्रहरी अधिकारीले सम्बन्धित जिल्लामा सहकारी ठगी मुद्दा चलाउने र सिआइबीबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने राय दिएका थिए । तर, गृह र महान्यायाधिवक्ता कार्यालयबाट भने सबै जिल्लामा सम्पत्ति शुद्धीकरणको कसुर चलाउन दबाब आइरहेको प्रहरी स्रोत बताउँछ । नयाँपत्रिका दैनिकमा समाचार छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।