बिचलनको बाटोमा बिपीको समाजबादि चिन्तन ?

0
938

प्रकाश चन्द्र दाहाल विश्वेश्वरप्रसाद कोइरालाको चिनारीका अनेकौँ आयामहरु छन् । तीमध्ये कोइरालाको समाजवादी राजनीतिज्ञको चिनारी प्रमुख पहिचान हो । राजनीतिमा सक्रिय भएको समयदेखि नै उनले समाजवादप्रति प्रतिबद्धता जनाएका थिए । सन् १९२९र३० को समय भारतीय जनआन्दोलनको इतिहासमा एउटा महत्वपूर्ण कालखण्ड थियो । भारतीय राष्ट्रिय कांग्रेसले त्यस बेला ४० वर्ष बल्ल पुगेका जवाहरलाल नेहरूलाई आफ्नो अध्यक्ष निर्वा्चित गरेको थियो । उनी दिनरात समाजवादको कुरा गरिरहन्थे । भारतीय युवा वर्गका माझ समाजवाद लोकप्रिय हुँदै गएको थियो । कोइराला त्यस समय कासी विश्वविद्यालयमा अध्ययनरत थिए । कांग्रेस सोसलिस्ट पार्टीमार्फत कोइराला प्रत्यक्ष रूपमा आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायणबाट प्रभावित थिए ।koirala यस्तै परिस्थितिमा बिपी कोइरालाको राजनीतिक प्रशिक्षण भएको थियो । द्वितीय विश्वयुद्धको प्रारम्भिक वर्षमा कोइराला दार्जि्लिङमा वकालत गर्थे । तर, वकालत पेशामा उनकोे मन लागेको थिएन । त्यसैले त्यस उथलपुथलमा भाग लिने मनसायले कोइरालाले वकालत पेशा परित्याग गरे । त्यसै बिपी क्रममा हजारिबाग जेल परे । जेलमा भारतका थुप्रै नेतासँग बिपीको संगत भयो । १९४६ मा हजारिबाग जेलबाट छुट्नु र राणाको काराबासमा रहनुभएका पिताजीको देहान्त हुनु एकै साथ भयो । १९४७ आउँदा–नआउँदा भारत स्वतन्त्र हुने टुंगो भइसकेको थियो । भारतीय स्वतन्त्रताको प्रभावमा बिपी कोइरालाको प्रयासमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भयो । नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो उद्देश्यका रूपमा समाजवादलाई राखेको थिएन । तर, बिपी कोइरालाको व्यक्तित्व र विचारमा भारतीय समाजवादको पूरै छाप परेको थियो । उनको समाजवादी पहिचान स्थापित भइसकेको थियो । २००७ सालको क्रान्तिको सफलताका निमित्त भारतीय समाजवादीहरूको सहयोग निर्णायक सिद्ध भएको थियो । तदनुरुप सिंगो नेपाली कांग्रेस भारतीय समाजवादीप्रति कृतज्ञ थियो । नेपाली राष्ट्रिय कांग्रेसको गठनमा जनताप्रति उत्तरदायी शासन प्रणालीको वकालत गरिएको थियो । बिपी कोइरालालाई नेपाली कांग्रेसको नेतृत्व गर्ने क्रममा मुख्यत भारतका समाजवादी नेता जयप्रकाश र लोहियाले मद्दत गरेका थिए । ००७ सालको क्रान्तिपछि बिपी कोइराला गृहमन्त्री बने । तर, कार्यकाल लामो भएन । कोइराला गृहमन्त्री भएको अवधिमा मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका पार्टी सभापति थिए । नेपालमा सामाजिक क्रान्ति गर्ने विषयमा नेपाली कांग्रेस जागरुक थियो । ००७ सालको क्रान्ति लगत्तै भएको कार्य समितिको प्रस्तावमा सामाजिक आर्थिक रूपान्तरणले प्रमुखता पायो । सामाजिक रूपान्तरणको प्रश्नमा सिंगो नेपाली कांग्रेस कटिबद्ध थियो । निश्चय पनि बिपी कोइरालाको पहलले यस्तो हुन सकेको थियो । ०१२ सालमा वीरगन्जमा महाधिवेशन सम्पन्न भयो । वीरगन्ज महाधिवेशनबाट नेपाली कांग्रेस विधिवत् रूपमा समाजवादको लक्ष्य लिन पुग्यो । नेपाली कांग्रेसको समाजवाद नेहरूको भन्दा केही भिन्न देखिने प्रयत्नमा थियो । त्यसैले गर्दा कोइरालाले भारतमा भारतीय राष्ट्रिय कांग्रेससंग भन्दा सोसलिस्ट पार्टीसँग भ्रातृ सम्बन्ध राखेका थिए । १९५८र५९ मा नेपाली कांग्रेसले आमनिर्वाचनमा बहुमत ल्यायो । बिपी कोइराला जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्रीत्वकालमा बिपीको आर्थिक कार्यक्रम भने जवाहरलाल नेहरू वा अशोक मेहताको चिन्तनअनुसार निर्मित भएको थियो । केही समयपछि कोइराला प्रधानमन्त्रीको रूपमा नै सुन्दरीजल थुनिए । आठ वर्षको काराबासमा कोइरालाले प्रशस्त अध्ययन गर्नु स्वाभाविक थियो । तर, जेलबाट निस्केपछि पनि समाजवादको विचारमा कुनै पनि परिवर्तन आएन । जेलबाट निस्केपछि कोइराला आत्मनिर्वासनमा वनारस बसे । अक्टुबर १९६९ मा कोइरालाले वनारसमा एउटा महत्वपूर्ण प्रवचन दिए । प्रवचनमा बिपीले गान्धीको राजनीतिक र आर्थिक सिद्धान्तको आलोचना गरे जुन धेरैले स्विकार गरे । २०१२ सालमा नेपाली कांग्रेसले समाजवादलाई अंगीकार गरेपछि पनि समाजवादको सामान्य एवम् ठोस अध्ययनको कुनै गम्भीर प्रस्तुति कोइराला वा कांग्रेसले गरेको छैन । गान्धीको आर्थिक दर्शनलाई खण्डन गर्दै भारतका जनता सधैँ गाउँले स्तरमा बस्न सक्दैनन् भन्ने बिपीको कथन थियो ।
डिसम्बर १९७६ मा कोइराला भारतबाट नेपाल फर्किए । नेपाल फर्कने क्रममा उनको सिंगो विचारधारा फेरिएको थियो । राजनीतिमा उनले सशस्त्र क्रान्तिको परित्याग गर्ने घोषणा गरेका थिए । ठीक त्यस्तै आर्थिक चिन्तनमा उनी नेहरूवादीबाट गान्धीबादतर्फ ढल्कीएका थिए । बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको प्रचारप्रसार गर्ने क्रममा ठाउँठाउँमा समाजवादबारे आदर्श भाषण गर्थे । समाजवादको कुरा गर्दा उनले पहिले उत्पादन नै हुनुपर्छ भनेर बारम्बार जोड दिएका थिए । कोइराला प्रस्ट छन्, म संसदीय प्रजातन्त्र भनेर भन्दिनँ । किनभने प्रजातन्त्र संसदीयबाहेक अरू प्रकारको पनि हुन सक्छ । तर, प्रजातन्त्रविना मुलुकमा स्थायित्व भने सम्भव छैन भन्ने दुरदर्शीता बिपीमा देखिन्थ्यो । समाज विकास र परिवर्तनका लागि बिपी कोइरालाको समाजवादी चिन्तनका दृष्टिकोण आज पनि अधुरै रह्यो यस्लाई न त कसैले बोक्ने हिम्मत गरे नत नेपाली कांग्रेसले नै ? दुर्भाग्यवश उहाँको यो प्रयास निष्कर्षमा पुग्न सकेन । परिणाम आज पनि बिपीको भजन गाउंदै धेरैले जिविको पार्जन गर्दै आएका छन् हेरौ उनिहरुको पेशा कहिले सम्म टिक्नेछ ।