काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन गर्न आफू प्रयासरत रहने र आवश्यक व्यवस्थाका लागि शिक्षामन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आफू पनि विगतमा शिक्षक पेसामा रहेका कारण त्यस क्षेत्रको समस्याका बारेमा जानकार छु । म तपाईंहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्छु । जायज र उचित माग सम्बोधन गर्न प्रयत्न गरिन्छ ।”
शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । अस्थायी शिक्षकका प्रतिनिधिले औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न, शिक्षा ऐन पुनः संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका थिए ।