काठमाडौं ,३० भदौ । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुलीमा पुनःनिर्माण पुनःस्थापनाका लागि सहयोगी संस्था नआउँदा सरकार आफैँले पुनःनिर्माण थाल्ने भएको छ । गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । ती जिल्लाका २०० स्वास्थ्य संस्था बनाउनका लागि स्वास्थ्य मन्त्रालयले करिब एक अर्ब छुट्टाएको छ । मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ओखलढुङ्गा र सिन्धुलीमा एउटा पनि स्वास्थ्य संस्था बन्न नसकेको र रामेछाप र मकवानपुर जिल्लाका केही स्थानमा निर्माण सुरु भएको जानकारी दिए ।