काठमाडौँ, ७ असोज । राष्ट्रिय संरक्षण दिवस, २०७३ का अवसरमा वन तथा भूसंरक्षण मन्त्रालयले आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले आवाजविहीन प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ । भण्डारीले भन्नुभयो, “प्रकृति नै जीवन हो, त्यसैले यसको संरक्षण गर्नु नै जीवनको संरक्षण गर्नु हो ।”
समुदायमा आधारित संरक्षणमा मात्र दिगोपन हुने बताउँदै राष्ट्रपति भण्डारीले संविधानले प्राकृतिक स्रोतको संरक्षण, प्रवद्र्धन र उपयोगका सम्बन्धमा महत्वपूर्ण नीति अवलम्बन गरेको बताउनुभयो । उहाँले १० वर्षअघि ताप्लेजुङ, घुन्सा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका वन संरक्षण अभियानकर्मीका अधुरा काम पूरा गर्न सके मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयो । विसं २०६३ असोज ७ गते कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यक्रममा जानुभएका तत्कालीन वन तथा भूसंरक्षामन्त्री गोपाल राईलगायत २४ विशिष्ट व्यक्तिको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । सोही दिनको सम्झनामा मन्त्रालयले असोज ७ गते यो दिवस मनाउँदै आएको छ । समारोहमा वनमन्त्री शङ्कर भण्डरीले संरक्षणका कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताउँदै भन्नुभयो, “हामी मुलुकलाई काठमा आत्मनिर्भर बनाउन र भूकम्पपीडतलाई सहुलियतमा काठ वितरण गर्ने अभियानमा लागेका छौँ ।” कार्यक्रममा चरा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएबापत कैलालीका भोजराज श्रेष्ठ गुलेली बाजेलाई राष्ट्रिय संरक्षण पुरस्कार तथा वन तथा वन्यजन्तु संरक्षणमा उल्लेख्य योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई पुरस्कृत गरिनाका साथै छात्रवृत्ति प्रदान गरिएको थियो ।