काठमाडौं ,२२ कात्तिक । एटिएमको पिन नम्बर चोरी गरेको आरोपमा तिन जना बिदेशी पक्राउ परेका छन्। एटिएम प्रयोग गरी अन्यको खाताबाट रकम निकालेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जना रोमानियाली नागरिकलाई पक्राउ गरेको छ । तीन रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरुले इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम संकास्पद देखिएपछि बैंकले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए । अभियुक्तहरुले इन्भेष्टमेन्ट बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि इन्भेष्टमेन्ट बैंक सजग भएको थियो ।उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । त्यस्तै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।