
नेपाल प्रिमियर लिग (एनपीएल) मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो । आजको खेलमा हार व्यहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ ।
लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूह चरणबाटै बाहिरएको हो । ६ खेलबाट उसको २ अंक मात्र छ । लिगको आफ्नो अन्तिम खेलमा लुम्बिनीले शुक्रबार कर्णाली याक्ससँग खेल्नेछ ।
बुधबारको जितपछि काठमाडौंको भने प्लेअफमा पुग्ने सम्भावना कायमै भएको छ । चौथो खेलमा दोस्रो जित निकालेको काठमाडौं चार अंकमा पाँचौ स्थानमा उक्लिएको छ । १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा ८५ रनमा अलआउट भयो । सन्दीप जोराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बरु काठमाडौंका बलरले अतिरिक्त ११ रन दिएका थिए ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा क्याप्टेन करण केसीले ४, दिपेश कँडेलले ३, गेरार्ड इरास्मसले २ र रसिद खानले १ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भएको थियो। काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । ७ जना ब्याटर दोहोरो अंकको स्को रन गर्दै पवेलियन फर्केको काठमाडौंको इनिङ्समा डान डोउथ्वेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफन इस्किन्जाईले १३ रन बनाएका थिए ।
लुम्बिनीका लागि साद बीन जफरले ३, अभिशेष गौतम र रेमन सिमोन्ड्सले समान २ विकेट लिए । बुधबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले परातिज गर्यो । जारी एनपीएलमा यो जनकपुरको पहिलो हार हो । हारपछि जनकपुर ८ अंकमा दोस्रो स्थानमा झरेको छ । जितपछि समान अंक भए पनि रनरेटमा जनकपुरलाई पछि पार्दै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।
आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।
त्यस्तै, विकास बैंक १.६३ प्रतिशतले, फाइनान्स १.६३ प्रतिशतले, होटेल तथा पर्यटन १.०५ प्रतिशतले, हाइड्रोपावर १.९६ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, जिवन बिमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशतले, लघुवित्त ०.४२ प्रतिशतले, निर्जीवन बिमा १.०३ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह १.५६ प्रतिशतले बढेको छ ।
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । आज (बुधबार) बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो ।
केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि छिन् । तर रवि र निकिता फरक फरक सिटमा छन् । रविलाई पोखराबाट बयानका लागि वीरगञ्ज लगिएको थियो । मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो ।
रविलाई पोखराबाट बयानका लागि अस्ती वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् । रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कुँवरले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।
त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उनले प्रवक्ता घिमिरेले बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले मंगलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह-षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।
विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मंगलबार मुद्दा खोलिएको थियो ।
अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह-षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए ।
“प्रतिवादी र उनका सह-षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए”, उप महान्यायाधिवक्ता लिसा मोनाकोले विज्ञप्तिमा भने ।
सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो ।
अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । “गुआन तियानफेङ र उनका सह-षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो-डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्यो”, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, “यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।”
अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो ।
सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।
काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ मा समपूरक र विशेष अनुदानका आधारमा कार्यान्वयन गर्ने लक्ष्य राखिएका कार्यक्रम तथा आयोजना तत्काल कार्यान्वयन नहुने भएका छन् ।
राष्ट्रिय योजना आयोगले बुधबार सूचना प्रकाशित गरी यस्ता अनुदानका लागि स्थानीय तथा प्रदेशबाट प्रस्ताव आह्वानको काम स्थगन गरिएको जानकारी गराएको छ ।
यसअघि राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकले स्थानीय तह एवं प्रदेशको वित्तीय क्षमता अनुसार समपूरक अनुदानमा लगानीको हिस्सा वित्तीय क्षमतामैत्री र सामाजिक आर्थिक समता अभिवृद्धिमा योगदान दिने गरी संशोधन गर्ने निर्णय गरेको थियो ।
यसैगरी विशेष अनुदान अन्तर्गत प्रदेश वा स्थानीय तहबाट सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासमा योगदान दिने गरी कार्यविधिमा संशोधन गर्ने निर्णय गरेको थियो ।
तीन महिनाभित्र कार्यविधि संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले कार्यविधिको व्यवस्थामा अध्ययन/विश्लेषण भइरहेको समेत योजना आयोगले जनाएको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार अनुसार हरेक वर्ष समपूरक अनुदान र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना/कार्यक्रमका लागि प्रस्तावसहितको विवरण पेस गर्न मंसिर मसान्तभित्र सूचना प्रकाशित गर्ने गरिएको छ ।
नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ।
जनकपुर बोल्ट्सलाई रोयल्सले १२.१ ओभरमा मात्र ५१ रनमा सबै विकेट पतन गरायो।
१२४ रनको सहज लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सको ब्याटिङ निकै कमजोर रह्यो।
अन्तिम साझेदारीका लागि रहेका जनकपुरका किशोर महतोले ११ बल खेल्दा पनि कुनै रन बनाउन सकेनन्।
ललित राजबंशी ९ बलमा ४ रन बनाएर आउट भए।
सुदूरपश्चिम रोयल्सका हरमित सिंहले ४ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिए। स्कट कुगेलेनले खेलको अन्तिम विकेट लिएर जनकपुरको पारी समाप्त गरे।
जनकपुरको हालको रन रेट ४.१९ रह्यो, जुन जितको लागि पर्याप्त थिएन। पछिल्लो ५ ओभरमा ६ रन मात्र बन्यो र ४ विकेट खस्यो, जसले टिमलाई थप दबाबमा परेको थियो।
सुदूरपश्चिम रोयल्सले यो जितसँगै आफ्नो बलियो प्रदर्शन प्रस्तुत गर्दै अंक तालिकामा महत्वपूर्ण स्थान सुरक्षित गरेको छ।
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।