२०८३ मंसिर ९ गते मंगलवार
२०८३ मंसिर ९ गते मंगलवार

प्रचण्डले भने- स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो हुरीबतास नचल्ने बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले मतदान गर्ने बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था नरहेको जिकिर गरे । नयाँ राजनीतिक दलहरूले गरेका कामबारे पनि आम नागरिकले विस्तारै बुझ्दै गएको उनको भनाइ थियो ।

दाहालले स्थानीय तहमा पार्टीले राम्रो परिणाम ल्याउनका लागि नेता तथा कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । चुनाव जित्ने आत्मविश्वासका साथ संगठनात्मक रूपमा खटिन सके स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकिने उनले बताए ।

‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन्,’ उनले भने ।

नयाँ राजनीतिक दलका गतिविधि र कामबारे नागरिकले विस्तारै बुझ्दै जाने उल्लेख गर्दै उनले गाउँघरमा पार्टीका कार्यकर्ताले आफ्ना धारणा र एजेन्डा बुझाउनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सके देशलाई पुनः क्रान्तिको दिशामा अघि बढाउन सकिने दाहालको भनाइ थियो ।

उनले आम कार्यकर्ताको सक्रियता र मेहनतले निर्वाचनमा जित्ने सिट संख्या निर्धारण गर्ने भन्दै सबैलाई चुनाव केन्द्रित भएर लाग्न निर्देशनसमेत दिए ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।