
काठमाडौं । देशभित्रको विद्युत आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ ।
विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपैयाँ) सहुलितपूर्ण ऋण र ३ करोड डलर (४ अर्ब ७ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले २ करोड २६ लाख डलर (३ अर्ब ६ करोड रुपैयाँ) र नर्वे सरकारले ३ करोड १० लाख डलर (४ अर्ब २१ करोड रुपैयाँ) अनुदान दिनेछन् ।
यसैगरी, रणनीतिक जलवायु कोषमार्फत १ करोड डलर (१ अर्ब ३५ करोड रुपैयाँ) सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रुपैयाँ) नेपाल सरकारले बेहोर्ने छ ।
एडिबीको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनामार्फत कार्यान्वयन हुने आयोजनाहरुबाट मुख्य रुपमा २९० किलोमिटर प्रसारण लाइन, ५ वटा नयाँ सबस्टेसन र दुईवटा सबस्टेसनको स्तरोन्नति गरिने छ ।
काठमाडौं उपत्यकाका घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान (दोस्रो चरण), वितरण सबस्टेसनहरुलाई आधुनिक एवम् स्वचालित बनाउनमा कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) जडान, कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको स्तरोन्नति गरिने छ । सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्य रुपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवम् विस्तार, क्षेत्रीय÷उपक्षेत्रीय विद्युत् व्यापारलाई भरपर्दो बनाउन मेरुदण्डका रुपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटलाइसेन गरिने बताए ।
‘समय–समय विद्युत गएको भन्ने उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षहरुबाट योजनाबद्ध रुपमा अगाडि बढाइएका पूर्वाधार संरचनाहरुको सुधार र सुदृढीकरणका कामहरु कार्यान्वयन गर्न ठूलो रकम जुटेको छ, अब योजनाहरु तत्काल कार्यान्वयनमा लगिने छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले देशभित्रको बढ्दो मागअनुसारको विद्युत् आपूर्तिमा रहेको ग्रीड पूर्वाधारको सीमितता हटाउन र हरित ऊर्जा निर्यातको लक्ष्य पूरा गर्न सहायता सहयोगी हुने उल्लेख गरे । निर्देशक कुश्वाले भने, ‘सहायता प्रसारण र वितरण गुरुयोजनाका मुख्य अभयवहरुमा खर्च हुनेछ, यसबाट जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रसारण गर्न एमम् अन्तरदेशीय विद्युत् व्यापार क्षमता बृद्धि गर्ने टेवा पुग्नेछ, कर्णाली र लुम्बिनी प्रदेशमा प्रसारण र वितरण पूर्वाधार विस्तार, सुधार, स्तरोन्नति एवम् पुनस्र्थापना हुनेछ, जसबाट विद्युतीकरण, ऊर्जा गरिबी कम गर्न, प्रदेशबीचको सामाजिक–आर्थिक असमानतालाई हटाउन सहयोग पुग्नेछ ।’
सहायता परिचालन गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनदेखि रुपन्देही, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङको लमहीसम्मको १६० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ । लमहीमा ‘ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधिमा आधारित ४०० केभीको स्वचालित सबस्टेसन निर्माण हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २० करोड ३० लाख डलर खर्च हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल बुटवलबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि १३२ केभी लाइनमार्फत रहेकाले त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न, त्यहाँको बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न र छिमेकी देशसँगको व्यापारलाई भरपर्दो बनाउन ४०० केभी लाइन तथा सबस्टेसन निर्माण गर्न लागिएको बताए ।
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरिने छ । भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निजगढमा ४०० केभी सबस्टेसन निर्माण हुनेछ । निजगढबाट परवानीपुरसम्मको ४०० केभी लाइन र परवानीपुरमा ४०० केभी सबस्टेसन निर्माणका लागि एडिबीबाट प्राप्त हुने साढे आठ करोड डलर खर्च गरिने छ ।
सन् २०५० सम्मको तीन हजार १ सय मेगावाट विद्युत माग धान्ने गरी काठमाडौं उपत्यकाको आपूर्तिलाई लक्षित गरी निर्माण गर्न लागिएको ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन र तीनपिप्लेमा २२० केभी सबस्टेसन निर्माणमा ४ करोड रुपैयाँ खर्च गरिने छ । दैलेख–जुम्ला १३२ केभी प्रसारण लाइन र जुम्लामा १३२ केभी प्रसारण लाइन निर्माणमा साढे तीन करोड डलर खर्च हुनेछ । साथै, कर्णाली प्रदेशका जिल्लाहरुको विद्युत् वितरण प्रणालीको स्तरोन्नति गर्न दुई करोड ३० लाख डलर खर्च हुनेछ ।
भक्तपुरमा बुवा–छोरा मृत भेटिएका छन् । सोमबार बिहान सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन् । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका– १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन् ।
दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो । कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो । डिएसपी न्यौपानेका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ ।
काठमाडौं- एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षिय गणेश साउद छन् ।
त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए । सो कुटपिटमा संलग्न रहेको आरोप उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँमा कायम भएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनासँग बयान सुरु भएको छ।
उनीहरूलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा बयानका लागि लगिएको हो।
बयान सकेपछि थुनछेक बहस सुरु हुन्छ। बयान सक्न २ दिन जति लाग्ने बताइएको छ। त्यसपछि थुनछेक बहस हुन्छ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन्।
सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले पूर्पक्षका लागि थुनामा पठाउने प्रचलन रहेको छ।
अदालतले बयान र थुनछेक बहसपछि तीन मध्य एक विकल्पको निर्णय प्रमाणको सान्दर्भिकताका आधारमा लिनेछ। त्यसपछि मूल मुद्दाको सुनुवाई र बहस पैरवी हुनेछ।
उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।
सो आयोजना कूल लागत रु. १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।
रसुवागढी जलविद्युत्ले वार्षिक रूपमा रु. ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु. तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ।
आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको उनका आफन्त तीर्थ दनुवारले जानकारी दिए।
उनका श्रीमानले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।
चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो । चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोग पनि बढ्छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अन्य समयको तुलनामा चिसो मौसममा १५ देखि २० प्रतिशत ग्यासको खपत बढ्ने बताए । विगतका वर्षमा चिसो समयमा २५ देखि ३० प्रतिशत ग्यासको माग बढ्ने गरेकोमा पछिल्लो समय २० प्रतिशतमा झरेको उनको भनाइ छ ।
चिसो समयमा बजारमा ग्यासको माग बढ्दै गए पनि सो अनुपातमा आपूर्ति नियमित नहुँदा अभाव देखिने गरेको उनको भनाइ छ । उनका अनुसार चार वर्षदेखि ग्यासको कोटा बढाइएको छैन तर ग्यास सिलिन्डर प्रमाणीकरण गरी थप सिलिन्डर सङ्ख्या २३ लाख पुगेको छ । सङ्घका अनुसार बजारमा एक करोड ५७ लाख सङ्ख्यामा सिलिन्डर रहेका छन् ।
अध्यक्ष घिमिरेले भने, ‘मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा रहेकाले पनि जाडो समयमा माग बढ्दा ग्यासको अभाव देखिन्छ ।’ केही दिनयता भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको कम लोड हुँदा बजारमा ग्यासको आपूर्तिमा सामान्य अभाव देखिएको उनको भनाइ छ । दुई वर्षअघिको तुलनामा हाल बिजुलीको प्रयोग बढ्दै गएकाले बजारमा ग्यासको खपतमा पनि सामान्य कमी आएको उनको भनाइ छ ।यो समाचार गोरखापत्र दैनिकमा छ,
बाघ मार्न राखिएको पासोमा शिकारी आफैँ परेर शिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ।
गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् ।
‘बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको शिकार भएका हुन् । बाघ मार्न गएछन्। उल्टै बाघले मारेछ’, उनले भने, ‘आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको शिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् ।’
सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।
गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीशिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।
मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए। घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।
यो घटनामा संलग्न रहेका न्यौपानेलाई निकुञ्जले पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । बाघ मार्ने प्रयास गरेको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान पूरा भई आइतबार अदालतमा मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। गोरखापत्र दैनिकमा समाचार छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।
अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।





