भरतपुर महानगरपालिकाको नगरकार्यपालिका गठनका लागि भदौ ३० गते मतदान हुदै ।

0
431

२४ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको नगरकार्यपालिका गठनका लागि भदौ ३० गते मतदान हुने भएको छ । नगरकार्यपालिका गठनकालागी ३० गते हुने हुने निर्वाचनका उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन आजै हुने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र भदौ ३० गते मतदान गर्ने कार्यतालिका तय भएको जनाईएको छ । नगरकार्यपालिकाका लागि भरतपुर महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले पुनः गठबन्धन गरेका छन् । नगर कार्यपालिकाका गठन गर्न आठ पदका लागि निर्वाचन हुन लागेको हो ।

गठबन्धन अनुसार नेपाली कांग्रेसले पाँच र माओवादीले तीन पदमा सहमति गरेका छन् । महिला र दलित वा अल्पसंख्यक पदका लागि निर्वाचन गर्न लागिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । ५ महिला पदमा कांग्रेसले ४ र माओवादीले १ तथा दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसले १ र माओवादीले २ पद लिने भएका छन् । नगर कार्यपालिकाका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

कूल १४७ मतदाता रहेको भरतपुरको नगरकार्यपालिकाको निर्वाचनमा सबैभन्दा बढी एमालेका मतदाता रहेका छन् । एमालेको ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ मत रहेको छ । कुल २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए । ३९ सदस्यीय नगर कार्यपालिका गठनका लागि आवश्यक ८ जनाका लागि चुनाव हुन लागेको हो । मेयर र उपमेयर, २९ वडाकै वडाअध्यक्ष र ८ जना गरी कूल ३९ जनाको नगर कार्यपालिका रहने छ ।