
काठमाडौँ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवन प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घटनास्थलतर्फ गएको थियो।
डडेल्धुरा । डडेल्धुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरी टोलीले डम्बरलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ भने उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ । नियन्त्रणमा रहेको डम्बरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ- चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।
चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् रु चार खर्ब ५२ अर्ब खर्च भएको छ ।
पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा रू पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् रु चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् रु ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।
ललितपुरका प्राचीन धरोहर लिच्छविकालीन ढुंगेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।
राजकुलो विस्तारका लागि महानगरले रु. २२ करोड बजेट छुट्याएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु. ६ करोडको लागतमा ३.४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । ०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए।
लगनखेलको सप्ताताल पोखरी पुनर्निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना रहेकाे उनले बताए । महानगर प्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दा बढी ढुंगेधारा छन् ।
आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टंग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मंगल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मंगल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुंगेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।
ललितपुर महानगरपालिका– ६ र वडा नं. १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउँछन्।
ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुंगेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर ०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनर्निर्माण गरेका थिए । पुनर्निर्माणपश्चात् बाह्रैमास धारामा पानी झरे पनि केही वर्षयता पानी आउन छाडेको छ ।
ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुंगेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका– ६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउँछन् । लिच्छविकालदेखिको इतिहास बोकेका ढुंगेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसदमा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई सरकारले अध्यादेश जारी गरेको हो ।
सरकारले गत वर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसद्बाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यस पटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’ जारी गरेको छ ।
एउटै अध्यादेश दुई पटक जारी
विगतमा हरेक वर्ष बजेटका सिद्धान्त एवं प्राथमिकता र नीति तथा कार्यक्रममा पर्याप्त छलफल नगराएकामा सांसदहरुबाट सरकारको आलोचना हुने गरेको थियो । ‘बजेट क्यालेण्डर’ नमिलेकाले त्यसलाई संशोधन गर्नुपर्ने विषय संसदमा बारम्बार आवाज उठ्न थालेपछि गत आर्थिक वर्षको वार्षिक बजेटको बुँदा नम्बर २९मा ‘आगामी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्मा पेश गर्ने व्यवस्था मिलाइने’ उल्लेख गरियो ।
बजेटको यही व्यवस्था कार्यान्वयनका लागि सरकारले गतवर्ष माघमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ जारी गर्यो । उक्त अध्यादेशले सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खोल्यो भने बजेटको सीमा तोकिसक्ने साबिकको समयसीमामा पनि संशोधन गरेको थियो ।
विधेयक फिर्ता
बजेट क्यालेण्डर संशोधन गर्न सरकारले गत साउन ३२ गते ‘आर्थिक कार्यविधि तथा उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा दर्ता गरेको थियो । अध्यादेश जारीसँगै संसद्मा विचाराधीन उक्त विधेयक स्वतः निष्क्रिय भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक फिर्ता लिने प्रक्रिया थाल्न संसद्लाई सरकारको पत्र प्राप्त भएको बताए ।
बजेट निर्माण प्रक्रियामा अलमल
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा विचाराधीन रहेकाले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अलमलमा परेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अध्यादेशबाट बजेट क्यालेन्डर संशोधन भएर आएपछि सोहीअनुसार काम गर्न सहज हुने बताए । विद्यमान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ले माघ १५ गतेसम्ममा ‘राष्ट्रिय स्रोत अनुमान समिति’को बैठक बसिसक्नुपर्ने र ‘बजेट सिलिङ’ प्रस्ताव गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।
उक्त ऐनको दफा ७ (१) मा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । हालसम्म स्रोत अनुमान समितिको बैठक हुन नसकेको राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले बताए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्।
कतारले विपिन जोशीको रिहाइको विषयलाई वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको छ ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज अल खुलाइफीसँग आज गरेको टेलिफोन वार्ताको क्रममा खुलाइफीले कतारले जोशीको रिहाइको विषयलाई आफ्नो वार्ताको बिन्दुको रूपमा राख्नका लागि काम गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालसँगको सम्बन्धलाई उच्च मूल्यांकन गरेको बताउँदै खुलाइफीले युद्धविरामका लागि वार्ता चलिरहेको र युद्धविराम हुनेमा पनि विश्वास व्यक्त गरे । आज बिहान टेलिफोन वार्तामा नेपाली आप्रवासी कामदारलाई विशेष ध्यान दिँदै नेपाल–कतार सम्बन्धका विषयमा छलफल भएको थियो ।
करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ ।
भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टीकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उनले बताए । मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख गरिएको छ ।
कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ ।
दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो/दानादार विषादी १० हजार ५०० किलोग्राम, तरल विषादी ९ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार १०० किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार ३ हजार ५ सय किलोग्राम, तरल विषादी ४ हजार ३ सय लिटर खपत भएको उल्लेख गरिएको छ ।
यस्तै जैविक विषादी धुलो–दानादार ९ सय किलोग्राम, तरल विषादी २ हजार लिटर र अन्य धुलो–दानादार विषादी २ सय ५० किलोग्राम र १ हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलो/दानादार विषादी ५६ हजार १ सय ६० किलोग्राम र तरल विषादी २८ हजार ९ सय ६४ लिटर प्रयोग गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलो/दानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार तीन सय २५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार नौ सय २० लिटर विषादी खपत भएको जनाइएको छ । यस्तै जैविक विषादी धुलो/दानादारतर्फ चार सय किलोग्राम, तरल विषादी नौ सय १५ लिटर र अन्य धुलो/दानादार विषादी दुई सय ५० किलोग्राम र तीन सय १२ लिटर तरल विषादी खपत भएको थियो ।
अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलो/दानादार विषादी २३ हजार एक सय ७५ किलोग्राम र तरल विषादी १५ हजार सात सय ७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलो/दानादार विषादी प्रयोग बढेको जनाइएको छ ।
कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको दाबी गरे । ‘यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्याङ्क प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दैछौँ,’ उनले भने ।
माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ।
माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएका छन्।
जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन्।
‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ, संयोजक श्रेष्ठले भने, जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ।’
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ। तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न।
यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन्। गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ।
गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ। वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ। यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन।
माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन्।
किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ।
माघे संक्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे संक्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ ।
ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्तमात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ’, उनले भने ।
डुङ्गा, र्याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।
पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्याइदिन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।
‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ’, निर्देशक बरालले भने, ‘सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट दुईऔदुई वटा उद्धार र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।’
सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई रु १०, मोटरसाइकल रु २०, कारऔजिप, भ्यान तथा हल्का सवारीलाई रु ५० तथा बस ट्रकसहित भारी सवारीसाधनर्ला रु एक सय निर्धारण गरिएको समितिले जनाएको छ । देवघाट गाउँपालिका– ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमी कमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको बताए ।





